नेभिगेशन
समाचार

नागरिकता बेला-बेला खुल्ने टेण्डर होइन, विधेयक फिर्ता गरौं : सांसद तामाङ

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले नागरिकता संशोधन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान विधेयक समावेशी नभएको आरोप लगाए ।

‘नेपालको संविधान ७२ मा आएको छ । यो विधेयक २०६३ लाई संशोधन गर्न आएको हो । तर, यसमा संविधान आएपछि प्राप्त समावेशी समानताको प्रावधान समेटिएको छैन’, उनले भने, ‘पुरुषले विदेशी रोजेको श्रीमतीलाई तत्काल नागरिकता आउने, तर विदेशी ज्वाइँले नागरिकता नपाउने अर्थात् छोरीले रोज्न नपाउने ? यो समावेशी भएन ।’

नागरिकता बेलाबेला खुल्ने टेण्डर नभएको भन्दै उनले अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयकले ती विषय समेटेको उल्लेख गरे । सोही कारण अहिलेको विधेयक फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

उनले नागरिकता विधेयकले महिला र पुरुषलाई मात्र चिनेको भन्दै तेस्रोलिंगीको पहिचान र अधिकार दिने आधार कतै नभएको बताए । ‘लैंगिक पहिचान दिँदैन, तेस्रोलिंगीले नागरिकता पाउने विषय यसले बोल्दैन, वञ्चित गराउने स्थिति प्रस्ट छ’, उनले भने । उनले विधेयक पुनर्लेखन गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार