नेभिगेशन
समाचार

‘मेरो अनुरोध गभर्नरलाई हो, एमाले अर्थ विभाग सदस्य एम अधिकारीले आफूलाई सम्झिए क्षमा चाहन्छु’

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न गरेका छन् । एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेका बेला सांसद थापाले पनि प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिने क्रममा थापाले गभर्नरमाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘मैले गरेको यो सबै, सम्पूणर् अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम. अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नु भएमा क्षमा चाहन्छु ।’

गभर्नर अधिकारीको राजनीति दलमा आबद्धतालाई लिएर छानबिन गर्नुपर्ने माग माओवादी केन्द्रले संसद्मा नै उठाएको अवस्थामा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्री थापाले पनि प्रश्न उठाएका हुन् ।

’आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले राष्ट्र बैंकलाई सुझाव दिए, ’परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’

सेयर बजारबारे राष्ट्र बैंकले ल्याएको नीति गलत रहेको पनि थापाको भनाइ थियो । उनले ठूला लगानीकर्तालाई पोस्नका लागि सानालाई पेल्ने नीति राष्ट्र बैंकले लिएकोमा आलोचना गरे । ’सेयर बजारमा सुधार गर्ने भनेर नीति ल्याइयो । यसले ठूलालाई पोस्ने, सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि नेपाली जनताले अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनु पर्छ । यसलाई सच्याइएन, हटाइएन, बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लागानीकर्ताहरू सडकमा आइपुग्छन्,’ उनको भनाइ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार