नेभिगेशन
विज्ञान प्रविधि

धनुषामा दुई सातापछि तीन वर्षीय बालक अपहरणमुक्त, महिला पक्राउ

धनुषा- प्रहरीले जनकपुरबाट अपहरणमा परेका बालकलाई दुई सातापछि अपहरणमुक्त गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका-७ भ्रमरपुराचोकस्थित डेरा गरी बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहनको दुई सातापछि प्रहरीले अपहरणमुक्त गर्न सफल भएको हो ।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले एक महिलालाई बालकसहित पक्राउ गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका-४ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई बालकसहित प्रहरीले मंगलबार दिउँसो फेला पारेको हो ।

बालकलाई लिएर खातुन आफ्नै घरमा लुकेर बसेको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ । विशेष सुराकीको आधारमा पत्ता लगाई बालकको उद्धार गरी ती महिलालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताएका छन् ।

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक अपहरणमा परेका थिए । एक महिलाले बालक लगेको स्थानीयले जानकारी दिए पनि ती महिलाको परिचय खुलेको थिएन । पक्राउ परेकी खातुन उपर अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको एसपी रजौरेले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्