नेभिगेशन
विज्ञान प्रविधि

मुगुमा लेक लागेर दुई जनाको मृत्यु

मुगु - मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका-७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँ स्थित बुद्ध माविमा ९ कक्षामा अध्यायरत थिए ।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको ज्यान गएको मुगुम कार्मारोङ गाउँपालिका-७ का वडाअध्यक्ष सशांक लामाले जानकारी दिए । एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको अकालमा ज्यान गएको उनको भनाई ।

बुधबार यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहलाई कोइकी पाटनमा लेक लागेको थियो । लेक लागेर उनी विरामी भएका थिए । उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब निरीक्षका सुवास हमालले जानकारी दिए । यार्सा टिप्न गएका सर्बसाधारणलाई लेक लागेर बिरामी हुने र तत्कालै उद्धार एवं औषधि उपचारको अभावमा बर्षेनी अकालमा धेरैको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्