नेभिगेशन
समाचार

‘बूढीगण्डकी हिजो के भनेर चीनलाई दिने भन्यौं, आज के नपाएर नदिने भन्दैछौं ?’

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सतही भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा जारी बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले बजेट कार्यान्वयन हुन सम्भव नहुने पनि बताए । ‘यस बजेटले हाम्रो अर्थतन्त्रका मूलभूत समस्यालाई समाधान गर्दैन,’ उनले भने, ‘बजेट सतहमा कुदिरहेको छ । अर्थमन्त्री ज्यूले यो जिम्मेवारी लिँदै गर्दा पुँजीगत खर्च १० प्रतिशत मासिकरुपमा खर्च गर्छु भन्नु भएको थियो । तर यसलाई सम्बोधन गर्न सकिएको देखिएन ।’

उनले एमालेले ०५१ सालमा ल्याएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएकोमा धन्यवाद दिए । ‘०५१ सालमा एक सय रुपैंयामा सुरक्षा भत्ताको अवधारणा अघि सार्दा कनिका छरिएको, राजश्वको अपव्यय भन्ने गरिन्थ्यो,’ ज्ञवालीले भने, ‘धन्यवाद भन्नु पर्छ, आजको बजेटसम्म आइपुग्दा सामाजिक न्याय बिनाको विकास अधुरो हुँदोरहेछ भन्ने देखिएको छ ।’

सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानीकर्तालाई हतोत्साही बनाइरहेको बताएका छन् । उनले भने, ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ, तर तपाईंका क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ ।’ ज्ञवालीले पहिले एमसीसी परियोजना गिजोलिएको र अहिले बूढीगण्डकी जलविद्युत् आयोजनालाई गिजोलिरहेको आरोप लगाए ।

‘हिजो एमसीसी गिजोल्नसम्म गिजोलियो । पछि के देख्नु भो तपाईंहरूले, सत्ता जान्छ भन्ने ठान्नुभो कि के भयो ? कुरा त जहाँको त्यहीं छ । पारित गर्नुभयो, धन्यवाद । आज फेरि त्यसैगरी बूढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ?, ज्ञवालीले प्रश्न गरे । बूढीगण्डकी पहिले चीनलाई दिने भनेर सम्झौता गरिएको र अहिले के नपाएर नदिने भनेको भन्दै प्रश्न समेत गरेका छन् । ‘हिजो के देखर चीनलाई दिने भन्यौं ? आज के देखेनौं, के पाएनौँ र नदिने भन्यौं ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार