काठमाडौं– नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा बेलाबेला चलिरहन्छ । जसका कारण नियामक निकायले सरकारको ध्यानाकर्षण गराउने तथा कारबाही गर्ने सम्मका गतिविधि गर्ने गरेका छन् ।
यसै क्रममा नेपालमा विमान दुर्घटनाको अर्को घटना भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको हो ।
आइतबार बिहान ९ : ५५ मा पोखराबाट उडेको केहीबेरपछि सम्पर्कविहीन भएको विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
९ एन–एईटी कलसाइनको जहाजमा ४ भारतीयसहित ६ विदेशी र चालक दलका ३ सहित १६ नेपाली गरि २२ जना थिए । विमानको चालकमा क्याप्टेन प्रभाकर घिमिरे, सह चालक उत्सव पोख्रेल र परिचारिका किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।
किन भइरहन्छ हवाई दुर्घटना ?
विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत कारण नेपालमा हवाई दुर्घटना बढिरहेको हवाई विज्ञ अच्युतराज पहाडीको तर्क छ ।
हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट, (जनशक्ति) र प्रोसेड्युर अर्थात समग्र प्रणाली र प्रक्रियाबीच तालमेल हुन नसक्दा नेपालले बारम्बार हवाई दुर्घटना व्यहोर्नु परेको पहाडी बताउ“छन् । यसबाहेक हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको कार्र्यान्वयनमा नेपालमा अझै सम्झौता हुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको उनको बुझाई छ ।
नेपालमा धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढ्ने गरेको विज्ञहरु बताउँछन् ।
नेपाली आकाश भौगोलिक कठिनाई र मौसमी विविधताले असुरक्षित मानिदै आएको छ । यद्यपि, हालसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छन् भन्ने यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन । नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको विज्ञहरुले बेलाबेला बताउने गरेका छन् ।
विमान कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छन् ।
भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भएपनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने उड्डयनसँग सम्बन्धित विज्ञको भनाइ छ । मौसम र भूगोलभन्दा पनि मानवीय त्रुटिलाई सक्दो कम गराउ“दै जाने हो भने भविष्यमा नेपालले ठूला दुर्घटनाबाट सुरक्षित रहन सक्ने पहाडीको तर्क छ ।
नेपाल असुरक्षित– आइकाओ
नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले नेपाल विश्वकै असुरक्षित आकास भएका देशहरूको सूचीमा राखेको छ । यो सूचीमा नेपाल लामो समयदेखि पर्दै आएपछि युरोपेली एयरलाइन्स कम्पनीले त नेपालमा विमान उडाउन छाडेका छन् । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने आठवटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ ।
उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । आईकाओको उड्डययन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।
प्रतिवेदन कार्यान्वयन हुँदैन
सन् १९४९ मा पहिलो पटक नेपालमा विमान अवतरण भएको थियो । तर, त्यसको ६ वर्ष पनि पूरा हुन नपाउ“दै सन् १९५५ को मार्च ८ मा कालिंगा एयरको जहाज बाराको सिमरामा दुर्घटना भयो । दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए ।
दुर्घटना लगत्तै नेपालमा छानविन समिति बन्छन् । समितिले प्रतिवेदन तयार पनि पार्छन् तर ति प्रतिवेदन कार्यान्वयनामा भने आउँदैनन् ।
छानविन समितिहरूले दुर्घटना नदोहोरिउन भन्नका लागि प्राविधिक र मानवीय कमजोरी हटाउनसुझाव दिएपनि त्यसको कार्यान्वयन हुन नहुने गरेको उड्ययन क्षेत्रमा संलग्नहरूको भनाइ छ । अझ कतिपय प्रतिवेदनमा दुर्घटनामा ज्यान गुमाएका चालकको कमजोरीको कारणलाई दुर्घटनाको मूख्य कारण देखाउने गर्नाले पनि समस्या हुने गरेको चालकहरू बताउँछन् ।
यस्तो छ नेपालको हवाई दुर्घटनाको नालिवेली
नेपाली हवाई इतिहासमा दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपालले कुनै न कुनै विमान दुर्घटना भोग्दै आएको छ । नागरिक उड्ययन प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा हवाइ उडान इतिहासको ६८ वर्षमा ७६ वटा ठुला दुर्घटना भएका छन् । ती दुर्घटनामा परि ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई मानिन्छ । त्यसपछि श्रृङ्खलाबद्ध रुपमा दुर्घटना दोहोरिरहेका छन् ।
नेपालमा भएका मुख्य हवाइ दुर्घटना
– वि.संं २०११ कालिङ्ग एयरको विमान बाराको सिमरामा दुर्घटना, २ जनाको मृत्यु
– वि.संं २०१२ इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु
– वि.संं २०१४ इण्डियन एयरलाईन्सको विमान ललितपुरमा दुर्घटना, २० जनाको मृत्यु
– वि.संं २०२६ नेपाल वायु सेवा निगमको विमान मकवानपुरमा दुर्घटना, ३५ जनाको मृत्यु
– वि.संं २०२६ नेपाली सेनाको विमान काभ्रेको पाँचखालमा दुर्घटना, ३१ जनाको मृत्यु
– वि.संं २०३८ नेपाल वायुसेवा निगमको विमान विराटनगरमा दुर्घटना, १० जनाको मृत्यु
– वि.संं २०४९ थाइ एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु
– वि.संं २०४९ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, १६७ जनाको मृत्यु
– वि.संं २०५० एभरेष्ट एयरलाइन्सको विमान चितनमा दुर्घटना, १९ जनाको मृत्यु
– वि.संं २०५५ लुम्विनी एयरवेजको विमान घोरेपानीमा दुर्घटना, १८ जनाको मृत्यु
– वि.संं २०५६ मा नेकोन एयरको विमान काठमाडौंमा दुर्घटना १५ जनाको मृत्यु
– वि.संं २०५९ सांग्रिला एयरको विमान पोखरामा दुर्घटना १८ जनाको मृत्यु
– वि.संं २०६३ तारा एयरको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु
– वि.संं २०६३ श्री एयरलाइन्सको विमान ताप्लेजुङको घुन्सामा दुर्घटना २४ जनाको मृत्यु
– वि.संं २०६७ तारा एयलाइन्सको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु
– वि.संं २०६७ अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु
– वि.संं २०६८ बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना १९ जनाको मृत्यु
– वि.संं २०६९ अग्नि एयरयको विमान मुस्ताङमा दुर्घटना १५ जनाको मृत्यु
– वि.संं २०६९ सिता एयरको विमान काठमाडौंमा दुर्घटना १९ जनाको मृत्यु
– वि.संं २०७० नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमा दुर्घटना १८ जनाको मृत्यु
– वि.संं २०७२ फागुनमा तारा एयरको विमान म्याग्दीमा दुर्घटना २३ जनाको मृत्यु
– वि.संं २०७२ फागुनमा एयर काष्ठमाण्डपको विमान कालिकोटमा दुर्घटना २ जनाको मृत्यु
– वि.संं २०७४ जेठ गोमा एयरको विमान लुक्लामा दुर्घटना दुईजनाको मृत्यु
– वि.संं २०७४ जेठ नेपाली सेनाको विमान बाजुरामा दुर्घटना एकजनाको मत्यु
– वि.संं २०७४ फागुन २८ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना ५१ जनाको मृत्यु
– वि.संं २०७५ जेठ ०२ गते, सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना दुईजनाको मृत्यु
– वि.संं २०७५ भदौ २६ गते, नुवाकोटको मेधाङ–मैलुङपाखामा, अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु
– वि.संं २०७५ फागुन १५ गते, ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेभीरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु ।
– वि.संं २०७६ बैशाख १ सोलुखुम्बुको लुक्लामा समिट एयरको विमान दुर्घटना, दुई जनाको मृत्यु
– वि.संं २०७९ जेठ १५ मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा तारा एयरको विमान दुर्घटना
वर्षौं पुराना विमान, निजी विमान कम्पनीको अस्वस्थ प्रतिस्पर्धा, फितलो सरकारी कानुनजस्ता लापर्वाहीलगायत कारणले हवाइ दुर्घटना बढिरहेको सन्दर्भमा सरकारी नियमन प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।