नेभिगेशन
विज्ञान प्रविधि

भुईमान्छेलाई गणतन्त्र दिवस : ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’

काठमाडौं– काठमाडौं बसन्तपुरका रैथाने ७५ वर्षीय राम मर्हजन दुई हातमा पानीको बोतल बोकेर ग्राहकको खोजीमा थिए । पर्यटकीयस्थल बसन्तपुर घुम्न आउने मानिसहरुलाई पानी बेचेर नै ढल्ने गर्छ उनका हरेक दिन । बसन्तपुर आसपासमा पानी बेचेरै घर चलाउँदै आएका महर्जनले आफ्नो जीवनकालमा धेरै राजनीतिक व्यवस्थाहरु देखे । नेताहरुले यो गर्छु, त्यो गर्छु भनेर गर्ने भाषणहरु सुने । तर, जीवनको उत्तरार्धमा पुग्दै गर्दासम्म उनले सुख र चैनका दिनहरु देख्न पाएका छैनन् । एक दिन मात्र स्वास्थ्यले साथ नदिएर पानी बेच्न ननिस्किए घरको चुल्हो जल्दैन । उनले राजाको शासनदेखि र गणतन्त्रको कछुवा गतिको कामहरुलाई नजिकबाट देखेका भोगेका र सुनेका छन् । देशमा गणतन्त्र दिवस मनाउनका लागि विभिन्न तयारीहरु चलिरहेका बेला (शनिबार) पनि महर्जन सदाझै पानी किन्ने ग्राहक चहारी रहेका थिए । १५ औं गणतन्त्र दिवस मनाउने तयारी भइरहेका बेला यताका वर्षको राजनीतिक परिवर्तनले भुईमान्छेहरुको जीवनमा के परिवर्तन ल्यायो भन्ने विषयमा सर्वसाधरण नागरिकको प्रतिक्रिया लिन निस्किएका हामीसँग उनी खुलेर कुरा गर्न तयार भए । तपाई त राजधानीबासी, नजिकबाट धेरै राजनीतिक व्यवस्था परिवर्तनहरुलाई नजिकबाट देख्नु, भोग्नु भएको छ, देशका गणतन्त्र आएपछि जनताका दुःखका दिनहरु केहि हदसम्म गएको पाउनु हुन्छ ?’, हामीले प्रश्न गर्‍यौ । हाम्रो प्रश्नमा उनी खुशी देखिएनन् । देशभरका मानिससँग दिनभरजसो भेटघाट, भलाकुसारी भइरहने गरेका कारण कुराकानीको शुरुवातमै उनको चलाकीपन देखियो । उनले गणतन्त्रको विरोध गरेनन्, न त प्रशंसा नै गरे । तर राजतन्त्रको अन्त्यपछि आएको गणतन्त्रबाट आफूहरुले राखेको सामान्य आशाहरु पनि यतिका वर्षसम्म पुरा हुन नसकेको भने खुलेर सुनाए । गणतन्त्रसँगै स्वतन्त्रताहरु थपिए पनि गण्तन्त्रले आफूहरु जस्ता गरीब- दुःखीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको गुनासो गरे । महर्जनको जस्तै निर्मला तिवारीको पनि गणतन्त्रपछिको १५ वर्षका अनुभव उस्तै छन् । उनी दिनभर हातमा सानो थर्मसमा चिया बोकेर ग्राहक खोज्दै बेच्छिन् । त्यहि चिया बेचेको पैसाले उनको घरबार चलेको छ । उनी एकल महिला हुन् । उनले आफनो पतिको बारेमा भने खुलाउन चाहिनन् । उनको दुई छोरीहरु छन । उनी भन्छिन, ‘गणतन्त्र आएको यतिका वर्ष भइसक्यो, तर गणतन्त्रले हामी जस्तालाई छुनै सकेन ।’ उनले थपिन्, ‘हिजो हाम्रो जुन दुःख थियो, आज पनि त्यहि छ । हाम्रा लागि गण्तन्त्र आउनु र ‘कागलाई बेल पाक्नु’ उस्तै हो ।’ देशमा गणतन्त्र आए पनि जतिसुकै नेताहरु आए पनि किनेर खाने सामानको भाउ नघटेको बरु दिनभरको कमाइले घर चलाउन धौंधौंको अवस्था भइरहेको उनले सुनाइन् । वसन्तपुरमा भाडामा वस्दै आएका राम लामा पनि राजतन्त्र र गणतन्त्र दुवैमा जनताको अवस्थामा खासै परिवर्तन आउन नसकेको दुःखेसो पोख्छन् । उनी रिक्सा चालक हुन् । उनले राजनीतिक परिवर्तन भए पनि देशका शासन गर्ने मान्छे मात्र बदलिएको बताए । उनले भने, ‘शत्तिशाली र पहुँच भएका मानिसहरुलाई पहिले पनि ठिकै थियो, अहिले पनि ठिकै छ । दुःख र सास्ती खेप्नु पर्ने त हामी गरीबले न हो । देश बदल्छौं भन्ने नेताहरुले हाम्रा दुःख देखिदिए हुन्थ्यो भन्ने मात्र हो ।’ पछिल्ला दिन आफूहरुको पेसाले घर परिवार चलाउन गाह्रो भएको, सडकमा अनेकन सास्ती भोग्नु पर्ने गरेको उनले सुनाए । विगतमा भन्दा मान्छेहरुलाई सुविधाका वस्तुहरु थपिए पनि आफूहरु जस्ता कम आयले घर चलाउनेहरुलाई महँगीको मारले थला बसाएको उनले सुनाए । पुख्र्यौली घर झापा भए पनि हाल काठमाडौं मैतिदेवी बस्दै आएका प्रतापबाबु जम्मरकट्टेलले भने राजतन्त्र भन्दा गणतन्त्र ठिक भएको बताए । तर अरुले भने जस्तै राजतन्त्र गएर गणतन्त्र आएपछि देश विकास होला, स्वदेशमै रोजगारी, शिक्षा, स्वास्थ्य सहज र सरल रुपमा पाइएला भन्ने आशा भने अहिलेसम्म पुरा हुन नसकेको बताए । नेपालमा गणतन्त्र आएपछि कुनै परिवर्तन नै भएन भन्न नमिल्ने बताउँदै जम्मरकट्टेलले जनताको समस्यामा देश चलाउनेहरुको वेवास्ता भने रहेको बताए । १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित गणतन्त्र दिवस हरेक वर्षको जेठ १५ गते मनाइन्छ । देशभर विभिन्न कार्यक्रमहरु गरी हर्षोल्लास मनाइन्छ । धेरै मानिसको रगत, पसिना र बलिदानीपछि आएको गणतन्त्रले मानिसलाई उज्यालो भविष्य दिन अझै सकिरहेको छैन । यहाँसम्म कि मुलुकमा गणतन्त्र ल्याउनका लागि आन्दोलनमा होमिने क्रममा ज्यान गुमाएका शहीदका परिवार, अपाङ्ग र घाइते भएकाहरुको उपचार, स्वास्थ्य शिक्षा र रोजगारीमा सरकारको ध्यान पुग्न सकेको छैन । देशमा उज्यालो व्यवस्था ल्याउनका लागि आन्दोलनमा उत्रिंदा आफ्नै जीवन अन्धकारमा परेकाहरुलाई राज्यले विशेष ख्याल गर्नुपर्छ । बर्षमा एक दिन गणतन्त्र दिवसमा शुभकामना साट्ने र सेता परेवा उडाउने मात्र नभई देशको विकासमा लागि गरिएका संकल्पहरु पुरा गर्ने दिशातर्फ सरकार, शीर्ष नेता-कार्यकर्ता लाग्नु पर्छ । देश विकासमा आम सर्वसाधरण नागरिकलाई आ-आफ्नो क्षेत्रबाट लाग्ने र योगदान पुर्‍याउने वातावरण बनाइनु पर्छ । फोटोः मलिना न्यौपाने
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्