सडक सञ्जालको सपना पुरा गर्न गुर्जाबासीले किने डोजर

बिहीबार, मंसिर ८, २०७९
म्याग्दी— म्याग्दीको गुर्जा गाँउका स्थानीयले सडक निर्माणका लागि डोजर किनेका छन् । सडक सञ्जालको सपना पुरा गर्न स्थानीयले आफैले डोजर किनेका हुन् । गुर्जा विकास मञ्चको पहलमा स्वदेश तथा विदेशमा रहेकाबाट करिब ७५ लाख रुपैयाँ चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.ले किनेको डोजर प्रयोग गरेर धवलागिरी गाउँपालिकाको केन्द्र मुना देखि वडा नम्बर २ हुदै गुर्जा जोड्ने सडक अन्तरगत महतला भिरमा मार्ग खोलिसकेका छन् । महतला देखि लुलाङ हुदै गुर्जातर्फ जाने सडक खोरीया, लमसुङ र लुलाङका वासिन्दाको विवादले निर्माण हुन सकेको छैन् । सरकारले लुलाङको विवाद समाधान, इन्धन र चालकको तलब भत्ताको व्यवस्था गरेमा डोजर परिचालन गरेर सडक खन्ने गुर्जा विकास मञ्चका सदस्य प्रेम छन्त्यालले बताए । गुर्जा पुग्न छिमेकी वडा लुलाङ देखि तीन हजार ३०० मिटर अग्लो देउराली डाडा पार गरेर भिर्, जङ्गल र खोल्साको उकालो ओरालो हिँड्नुपर्छ । स्थानीयवासी रुद्रबहादु छन्त्यालका अनुसार २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोवास रहेको गुर्जाका बासिन्दाले बिरामी पर्दा हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्न वार्षिक ४० लाख रुपैयाँको हाराहारीमा खर्चने गर्छन् । गाउँपालिका र जिल्ला सदरमुकाम पुग्न नसकेका विपन्न र शारीरिक अशक्तहरू सरकारी सेवा सुविधाबाट वञ्चित भएका छन् । आलु, जडिबुटी र पशुजन्य बस्तु निकासी गर्न समस्या भएको छ । लोत्ता, पुवा, चोया लगायत वनपैदावार जङ्गलमा कुहिएर खेर गएको छ । घोडा, खच्चर र भरिया मार्फत निर्माण तथा दैनिक उपभोग्य सामान ढुवानी गर्न लागत महँगो पर्ने भएकाले विकास आयोजना फर्काउन बाध्य भएको स्थानीय गुनराम छन्त्यालले बताए । धवलागिरी गाउँपालिकाले लुलाङ देखि देउराली हुँदै गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर स्रोतको खोजिमा जुटेको छ । धवलागिरी गाउँपालिका –१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जातर्फबाट मजदुर परिचालन गरेर देउराली देखि वनामसम्म दुई किलोमिटर आन्तरिक सडक निर्माण भएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार