आईपीएल : चेन्नईमाथि हैदराबादको ८ विकेटको जित, चेन्नईको लगातार चौथो हार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– अभिषेक शर्माको अर्धशतकीय इनिङ्समा सनराइजबर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित निकालेको छ। शनिबार सम्पन पहिलो खेलमा हैदराबादले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो। चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदराबादले ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। हैदराबादका लागि शर्माले सर्वाधिक ७८ रन बनाए। उनले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गरे। केन विलियम्सनले ४० बलमा २ छक्का र १ चौकासहित ३२ रन बनाए। पहिलो विकेटका लागि शर्मा र विलियम्सनले ८९ रनको साझेदारी गरेका थिए। यस्तै, राहुल त्रिपाठीले ३९ रनमा अविजित रहे। उनले १५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यता, निकोलस पूरन ५ रनमा अविजित रहे। चेन्नईका लागि ड्वेन ब्राभो र मुकेश चौधरीले १/१ विकेट लिए। त्यसअघि डी वाई पाटिल स्पोर्ट्स एकेडेमी, मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाएको थियो। चेन्नईका लागि मोइन अलीले सर्वाधिक ४८ रन बनाए। उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अलीले अम्बाती रायुडुसँग मिलेर तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। रायुडुले २७ रन बनाए। यस्तै, कप्तान रविन्द्र जडेजा २३, ऋतुराज गायकवाड १६ र रोबिन उथप्पा १५ रनमा आउट भए। अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन्। ड्वेन ब्राभो ८ र क्रिस जोर्डन ६ रनमा अविजित रहे। सनराइजर्सका लागि वासिङ्टन सुन्दर र टी नटराजनले दुई/दुई विकेट लिए। भुवनेश्वर कुमार, मार्को जानसेन र एडेन मार्करामले एक/एक विकेट लिए। चेन्नईको यो लगातार चौथो हार हो। चेन्नई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। यता, हैदराबाद ३ खेलबाट २ अंक जोड्दै अंक तालिकाको ८औं स्थानमा रहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५१
प्रतिक्रिया दिनुहोस्