यूएईसँग नेपालको हार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को यूएईमा जारी त्रिदेशीय श्रृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । यस प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यो हारसँगै नेपालको ट्वान्टी-२० विश्वकप यात्रा टुंगिएको थियो । जितसँगै यूएईले १६ खेलबाट २० अंक जोडेको छ । यूएई अंक तालिकाको दोस्रो स्थानमा छ । २८ खेलबाट ३६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । नेपालले १० खेलबाट १० अंक जोड्दै छैटौँ स्थानमा छ । नेपालभन्दा तल पीएनजीमात्र छ । पीएनजी अंकबिहीन छ । नेपालले बुधबार पीएनजीलाई दुई विकेटले हराएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले सबभन्दा ४६ रन बनाए । ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । रोहित र ज्ञानेन्द्रले चौथो विकेटका लागि गरेको ५५ रनको साझेदारी नै नेपालका ब्याट्सम्यानले गरेको सबैभन्दा ठूलो साझेदारी हो । यूएईका बासिल हमीदले ४ विकेट लिए । जुनैद सिद्धिकीले तीन विकेट लिए भने जहुर खान र रोहन मुस्तफाले एक एक विकेट लिए । यूएईका कप्तान अहमद राजाले टस जितेर ब्यटिङ गर्ने निणर्य गरेका थिए । नेपालका सोमपाल कामीले तीन तथा करण केसीले एक विकेट लिँदै यूएईका कप्तान अहमदको निणर्य गतल सावित गरिदिएका थिए । लगातार अग्रपंक्तिका चार शीर्ष ब्याट्सम्यानलाई गुमाएपछि यूएई दबाबमा परेको थियो । ओपनर चिराग सुरी ६, वृत्या अरविन्द ३, मुहम्मद वासीम २१ र आसिफ खान दुई रन बनाएर पवेलियन फर्किएका थिए । १०.३ ओभरमा आसिफ आउट हुँदा यूएई ३५/४ को अवस्थामा थियो । त्यसपछि रोहन मुस्तफा र चुन्दगापोयल रिजवानले घरेलु टोलीको इनिङ्स सम्हालेका थिए । दुई पाँचौँ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । दुई जनाको साझेदारी नेपालका कप्तान सन्दीप लामिछानेले तोडे । सन्दीपले चुन्दगापोयललाई विकेटकिपर आसिफ शेखमार्फत क्याच गरेका थिए । चुन्दगापोयलले ४० रन बनाए । त्यसपछि यूएईले लगातार अर्को दुई विकेट गुमायो । रोहन मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरिदिएका थिए भने बासिल हमीदलाई सागर ढकालले ज्ञानेन्द्र मल्लमार्फत क्याच गरे । पपुवा न्युगिनीविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सागरको यो पहिलो विकेट हो । पीएनजीविरुद्ध सागरले चार ओभरमा विना विकेट २१ रन खर्चिएका थिए । मुस्तफाले ४० रन जोड्दा हमीदले १४ रन बनाए । कशिफ दाउदले १८ रन बनाउँदा कप्ता राजाले १३ रन बनाए । जहुर खान शून्यमा आउट भए । दाउद र राजाले आठौँ विकेटका लागि २७ रनको साझेदारी गरे । नेपालका सोमपालले तीन विकेट विकेट लिए । उनले पीएनजीविरुद्ध पनि तीन विकेट लिएका थिए । करणले दुई विकेट लिए भने सन्दीप, सागर र दीपेन्द्रसिंहले एक एक विकेट लिए । पीएनजीविरुद्ध खेलेको टोलीमा नेपालले आज एक खेलाडी परिवर्तन गरेको थियो । विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरी टिममा परेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५६
प्रतिक्रिया दिनुहोस्