फिलिपिन्सविरुद्ध नेपालको विशाल जित

बुधबार, मंसिर ७, २०७९

सहज जित पाउने अपेक्षा गरिए जसरी नै नेपालले समूहको कमजोर प्रतिद्वन्द्वी फिलिपिन्सलाई १३६ रनले पराजित गर्‍यो।प्रारम्भिक ब्याटर कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो।

ब्याटिङ गरेर २१८ रन जोडेको नेपालले फिलिपिन्सलाई ८२ रनमा नै अल आउट गरेको थियो।लगातार दुई विजय सँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ।

अर्को खेलमा ओमानले क्यानडालाई हराएकाले समूह चरणका अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ।ओमानले क्यानडाविरुद्ध ९ विकेटको फराकिलो विजय पाएको छ।

त्यसकारण सेमिफाइनलमा पुग्ने टोलीको भिडन्त रोचक बन्ने देखिन्छ।नेपालले अब लीगको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ। सो खेलमा नेपालले जित वा उच्च रन रेट बनाउन आवश्यक हुनेछ।

खुलेको ब्याटिङ
अनुमान गरिए झैँ नेपाली खेलाडीले कमजोर फिलिपिन्सविरुद्ध खुलेर ब्याटिङ गरे।आक्रामक प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार शतक प्रहार गरे।६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले।

५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी अन्तर्राष्ट्रिय टी २० शतक बनाउने नेपालका तेस्रा खेलाडी बने।उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए। पहिलो बलमा नै क्रस शट खेल्ने क्रममा उनी आउट भएका थिए।

कुशल पछि दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे।

यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो।आशिफपछि आएका कुशल मल्लले १२ रन बनाए।पाँचौँ ओभरमा उनी मिग्गी पोडोस्कीको शिकार भए। लोकेश बमले अविजित ६ रन बनाए।

२१८ रन नेपालले टी २० क्रिकेटमा बनाएको तेस्रो उच्च स्कोर हो।यसअघि नेपाली टोलीले काठमाण्डूमा नेदरल्याण्ड्स विरुद्ध सर्वाधिक २३८ रन जोडेको थियो। त्यस्तै १३ औँ दक्षिण एसियाली खेलकुदमा भुटान विरुद्ध कीर्तिपुरमै २३६ रन बनाएको थियो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्