नेभिगेशन
सुरक्षा–अपराध

२१ दिनमा प्रहरीले पाउँदैछ नयाँ आईजी, एआईजी खापुङ सोलिड उम्मेदवार, प्रतिस्पर्धामा अरु चार

आईजीका प्रतिस्पर्धामा एआईजीहरु सिद्धिविक्रम शाह, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी पनि रहेका छन्

काठमाडौं– प्रहरी ऐन र नियमावलीमा परिवर्तन हुने सम्भावना कम देखिएका कारण अब २१ दिनमा नेपाल प्रहरीले नयाँ महानिरिक्षक (आईजी) पाउने लगभग तय भएको छ।

३२औं आईजीका निम्ति हालका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) चन्द्रकुबेर खापुङ सोलिड उम्मेदवार हुन्। उनको ब्याचमा कोही पनि प्रतिस्पर्धी नरहेका कारण छाटो अवधिका निम्ति आईजी बन्ने सम्भावनामा खासै तगारो छैन। 

तर, प्रहरी संगठनमा भएका हस्तक्षेपहरुलगायतका विषयलाई नजरअन्दाज गर्न नसकिने अवस्था रहेका कारण अन्य चार जना पनि प्रतिस्पर्धामा रहेका छन्।

प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी २१ दिनपछि १८ भदौ राति १२ बजेबाट अनिवार्य अवकाश हुनेछन्। 

१९ भदौ २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका थापा ५ चैत २०८१ मा आईजीपीमा बढुवा भएका थिए। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को निर्देशक (एआईजी)को जिम्मेवारीमा रहेका खापुङले अहिलेका आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागि फारम भरेका थिए।

तर, सँगै भर्ना भएका यो ब्याचका इन्स्पेक्टरहरूलाई तीन लटमा नियुक्ति दिइयो। पहिलो लटमा ५ चैत २०५१ मा नियुक्ति लिइएका ५३ जनामध्येबाट यसअघि नै बसन्तबहादुर कुँवर आईजी भएर ५ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए।

खापुङ आईजी नियुक्त भए नेपाल प्रहरीमा एउटै ब्याचका तीन आईजी बन्ने ऐतिहासिक पात्र पनि हुनेछन्।

खापुङसँगै इन्स्पेक्टरमा नियुक्त भएका अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि एआईजीको ५६ वर्षे उमेर हदका कारण १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन्।

आफ्नो ब्याचका एकल प्रतिस्पर्धी खापुङ आईजीपी बनेको अवस्थामा उनी प्रहरीको इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहन सक्ने सम्भावना छ। 

उनको पालामा पनि नयाँ ऐन जारी नभएको अवस्थामा विद्यमान प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन्।

सीआईबीमा रहेका खापुङ आफैं भने अहिलेसम्म इमान्दार तथा विवादरहित भएर काम गरिरहेकाले ३२औं आईजीपी बन्नेमा ढुक्क देखिन्छन्।

उनीसँगै अन्य एआईजीहरू पनि ३२औं आईजीपीको प्रतिस्पर्धामा लागेका छन्। किनभने नियमावली र ऐनले पनि प्रतिस्पर्धीका लागि योग्य ठान्छ। यसकारण आईजीका प्रतिस्पर्धामा एआईजीहरु सिद्धिविक्रम शाह, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी पनि रहेका छन्।

शाह ०५३ सालको लटका हुन् भने अन्य तीन जना भने ०५४ को पालाका हुन्। यसकारण उनीहरु पनि प्रतिस्पर्धाको मैदानमा रहेको बुझिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध