नेभिगेशन
सुरक्षा–अपराध

सत्ता शक्तिमा अपराधीको पहुँचका उदाहरण पूर्वमन्त्री सञ्जय टक्ला, जनकपुर बम काण्डको इतिवृत्ति

जनताबाट प्रत्यक्ष निर्वाचित भएर कानुन बनाउने थलो संसदमा मात्र होइन, सरकारमा मन्त्रीकै जिम्मेवारी लिनेलाई अदालतले अपराधी करार गरेका उदाहरणीय पात्र

काठमाडौं– पञ्चायतकालिन अवस्थामा नै एउटा खुंखार भारतीय अपराधी नेपालमा छिरेर विभिन्न राजनीतिक दलमा आवद्ध हुँदै सांसदमा निर्वाचित मात्र हुँदैन, उ मन्त्री समेत बनेर सत्ताको चाबी हातमा लिन्छ। 

यो नौलो विषय त्यसबेलादेखि हालसम्म पनि बनेको होइन। राजनीतिमा लागेका मानिस सत्तामा पुग्दा र पहुँच राख्दा उनका अपराधका अनेक किस्सा सतहमा आएकै छन्। 

ति मध्यका एक हुन्, सञ्जय साह उर्फ सञ्जय टक्ला। 

२०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा आरडिएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराउँदा मिथिला आन्दोलनसँग जोडिएका ५ जनाको मृत्यु भएको थियो। 

तीन दर्जनभन्दा बढी घाइते भए। त्यो त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले पुरक अभियोगपत्र अदालतमा बुझाएको थियो।

विस्फोटमा संग्लन ८ जनाको नाममा २०६९ जेठ २९ गते जिल्ला अदालत धनुषामा अभियोगपत्र दायर गरेको सरकारी वकिल कार्यालयले २०७० चैत २४ गते पूर्वमन्त्री साह र उनका सहयोगीसहित थप ५ जनाविरुद्ध पुरक अभियोगपत्र दायर गरेका थिए।

विस्फोट भएलगत्तै रंजित झा(राजनमुक्ति) र मुकेश चौधरी नेतृत्वको सशस्त्र समूहले घटनाको जिम्मेवारी लिए। 

झा र चौधरी दुवै पक्राउ परेपछि विस्फोटनमा पूर्वमन्त्री साहको नाम मुछियो। 

‘विस्फोटन भएको दिनको अघिपछि पूर्वमन्त्री साह र चौधरीविच मोवाइलमा १ सय २२ पटक वार्ता भएको छ,’ सरकारी वकिल कार्यालयका न्यायधिवक्ता शम्भु गौतमले मुद्दाको अन्तिम बहस थाल्दै भनेका थिए,‘विस्फोटनपछि सार्वजनिक भएको साह र चौधरीबीचको अडियो संवादले पनि वारदाताको मुख्य योजनाकार साह रहेको खुल्छ।’

जनकपुर क्षेत्रबाट संविधानसभाको पहिलो निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम र दोस्रो चुनावमा सद्भावना पार्टीबाट निर्वाचित सभासद् साह यहि मुद्दामा पूर्पक्षका लागि हाल कारागारमा छन्। 

पहिलो संविधानसभामा छिटछिटो सरकार फेरिंदा उनी विजय गच्छदारको पार्टीबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए। सभासद् हुँदा नै साह पक्राउ परे।

सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा पूर्वमन्त्री साहले बम विस्फोटनका लागि सशस्त्र समूहका नाइके चौधरीलाई ५० लाख रुपैयाँको सुपारी दिएको उल्लेख छ। 

भारत, सीतामढीमा साह र चौधरीबीच बम विस्फोट गराउने सहमति भएको र लगत्तै साहले आफ्ना विश्वासपात्र ओमप्रकाश यादवमार्फत पठाएको ५ लाख भारु चौधरीले सीतामढी र मुज्जफरपुर सहरबीच ठाउँबाट बुझेको सरकारी वकिलको दाबी थियो। 

‘५ लाख भारु बुझेको र बुझाउन गएको चौधरी र यादव दुबैले वयानमा स्वीकारका थिए। जिल्ला न्यायधिवक्ता गौतमले भनेका थिए, ‘त्यसैले बम विस्फोटनको मुख्य योजनाकार साह नै हुन्।’

बम विस्फोटपछि सशस्त्र समूहका नाइके चौधरी र पूर्वमन्त्री साहबीच भएको अडियो संवाद लिकपछि आन्दोलनरत्त मिथिला राज्य संघर्ष समितिले ‘आवाज चिरपरिचित’ रहेको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र लेखेको थियो। त्यहि आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र विधि विज्ञान प्रयोगशालामा पूर्वमन्त्री साहले सार्वजनिक कार्यत्रममा दिएको भाषण समेत संकलन गरेर आवाजको परिक्षण गरियो। 

प्रहरीको ब्यूरो र विधि विज्ञान प्रयोगशालाले तीन चरणमा गरेको परिक्षणमा आवाज साहकै रहेको दाबी गरेको थियो।

सरकारी वकिलको कार्यालयले यसलाई पनि प्रमाणको रुपमा अदालतमा पेश गरेको थियो। जिल्ला न्यायधिवक्ता गौतमका अनुसार २०७० फागुन १९ गते सशस्त्र समूहका नाइके चौधरी पक्राउ परेपछि उनीसित बरामद पेन ड्राइभमा पनि भेटिएको ट्रयाकमा रेकर्ड रहेको साह र चौधरीको आवाज पनि मिलेको थियो। 

विस्फोट गराउन पैसाको लेनदेन, घटना अघिपछि चौधरीसित साहको अस्वभाविक फोन सम्पर्क र उनीहरुबीच भएको कुराकानीको आवाज म्याच हुनुले बम विस्फोट गर्न लगाउने योजनाकार साह नै रहेको पुष्टि भएको गौतमले दाबी गरे।

मिथिला बम विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, बिमल शरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो।

घटनामा संलग्न जयप्रकाश चौधरी, मुकेश कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा, जितेन्द्र कर्ण र आदित्य देवलाई प्रहरीले पक्राउ गरेको थियो। 

यिनीहरुकै बयानको आधारमा प्रहरीले सशस्त्र समूहका नाइके चौधरी र राजन मुक्तिलाई पनि नियन्त्रणमा लियो। 

पहिलो र दोस्रो चरणमा पक्राउ परेका अभियुक्तहरुले घटनामा पूर्वृमन्त्री साहको नाम मुछेपछि सरकारी वकिलको कार्यालयले साहसहित राजनप्रताप भनिने फूलकुमार यादव, नागराज भनिने उमेश तिवारी, सुजितकुमार पाण्डे र ओमप्रकाश यादवबिरुद्ध पूरक अभियोगपत्र दायर गरे।

सरकारी वकिलको कार्यालयले साहले होटल व्यवसायी जिवनाथ चौधरीको हत्या गर्न रामानन्द चोकमा ठूलो जनधनको क्षति हुने गरी बम विस्फोट गर्न लगाएको अभियोगपत्रमा दाबी गरेको थियो।

साह र होटल व्यवसायी चौधरीबीच पुरानो दुश्मनी थियो। विस्फोटनबाट चौधरी बचेपछि सुपारी वापतको थप पैसा साहले नदिँदा घटनामा उनको संग्लनता खुलेको थियो।

यो घटना गराउने साहलाई ११ बर्ष जेल सजाय त तोकियो तर घटेर ७ बर्षमा झारियो पनि। चाहे दिल साहबेग हुन् या पूर्वमन्त्री साह यी अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण गर्ने नामूद उदाहरणका रुपमा स्थापित हुन्। यो क्रम गणतन्त्रसम्म आउँदा पनि कायम रहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध