नेभिगेशन
खेलकुद

स्थानीय पाठ्यक्रममा क्रिकेटर सन्दीपको जीवनी

स्याङ्जा - विश्व क्रिकेटमा चम्किनु भएका सन्दीप लामिछानेको जन्मभूमिमा पाठ्यक्रममा जीवनी समेटिएको छ । लामिछानेको सम्झनामा क्रिकेट मैदान नै बनाएको यहाँको अर्जुन चौपारी गाउँपालिकाले हाम्रो अर्जुनचौपारीको पाठ्यक्रममा जीवनी समेटेको हो ।

कक्षा–४ को पहिलो पाठ सन्दीप लामिछानेमा पालिका अध्यक्ष प्रकाश तिवारीले लामिछानेको बारेमा लेखेका हुन् । अर्जुनचौपारी गाउँपालिका वडा नं–५, आरुचौरको तालपोखरीमा विसं २०५७ साउन १८ गते लामिछाने जन्मिनुभएको थियो । बाल्यकालमा ‘सन्दे कान्छा’ उपनामले चिनिएका सन्दीप पाँच सन्तान मध्ये कान्छा छोराको रूपमा रहेका छन् ।

भारतीय रेल्वे सेवामा कार्यरत पितासँगै भारतमा वाल्य शिक्षा प्राप्त गरेका सन्दीपले सोही ठाउँमा क्रिकेटसँग पहिलो परिचय लिएका थिए । कक्षा–४ चारपछि नेपाल फर्किएका उनी चितवन क्रिकेट एकेडेमीमा पूर्व कप्तान राजु खड्कासँग प्रशिक्षण लिएका थिए ।

सन् २०१६ (वि.सं. २०७३ वैशाख ४) मा नामिबिय विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सन्दीपले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ख्याती कमाए ।

विशेष गरी दायाँहाते स्पिन बलिङमा निपुण उनले ४२ खेलमै ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान राखेको पाठ्यक्रममा समेटिएको छ ।

आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा दिल्ली क्यापिटल्सबाट खेलेका लामिछाने बङ्गलादेश, पाकिस्तान, आयरल्यान्ड, युएई लगायतका टिमसँगको खेलमा निर्णायक भूमिका निर्वाह गर्दै उनले नेपाललाई विश्व क्रिकेट नक्सामा स्थापित गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद