नेभिगेशन
राजनीति

अर्को चुनाव अघिसम्म कुलमानले खोल्न सक्छन् उज्यालो नेपाल पार्टी!

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक कुलमान घिसिङ उज्यालो नेपाल अभियान लिएर अहिले विभिन्न देशमा रहेका नेपालीसामु परामर्शमा जुटेका छन्।

अमेरिकामा पुगेका उनी हाबर्ड विश्वविद्यालयका विद्यार्थीलगायतसँग परामर्श गर्न भ्याइसकेका छन्। 

यसअघि उनले खाडी मुलुकमा रहेका नेपाली समुदायबीच पनि अभियानका विषयमा स्पष्टसँग अन्तरक्रिया गरेका थिए।

कुलमानको यो अभियान आगामी निर्वाचनअघि नयाँ राजनीतिक दलमार्फत उज्यालो नेपाल बनाउने तयारीका हिसाबमा पनि बुझिएको छ।

कुलमान कुनै परम्परावादी पुराना दल या स्टन्ट रुचाउने नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने चाहनामा छैनन्। 

उनी काम गरेर देखाउन सक्ने नयाँ अभियानमा छन्। उनको अभियानको नाम नै ‘उज्यालो नेपाल’ हो। यसका कारण अहिले खाडीदेखि अमेरिकासम्म परामर्शमा रहेका उनले आगामी चुनावसम्ममा ‘उज्यालो नेपाल पार्टी (उनेपा)’ गठन गरी अभियान चलाउन सक्ने अनुमान सर्वत्र गरिएको छ।

उनले एक अन्तरवार्तामा पनि भनेका छन्,‘म नयाँ या पुराना पार्टीमा जान्न। तर, आवश्यक परेको समयका अवसरमा जनतासँग जोडिन राजनीतिमा आउन सक्छु।’ यसको अर्थ हो, उनी नयाँ दल दर्ता गरी फरक अभियानमार्फत उदाउने पूर्वाभ्यासमा अहिले सक्रिय छन्।

कुलमाननिकट स्रोतका अनुसार विदेशका अभियान सकेर नेपालमा पनि ब्यापक र सर्वपक्षीय छलफलमा उनी लाग्नेछन्। त्यसका लागि इमान्दार पूर्वप्रशासकदेखि पत्रकार, निष्कलंक व्यक्तित्व र उज्यालो नेपालका निम्ति योगदान गर्नेसँग उनको सहकार्य हुनेछ।

यसक्रममा स्वतन्त्र उम्मेदवार बनी स्थानीय तहमा निर्वाचन जितेकाहरुसँग पनि उनको सहकार्य र साझेदारीको तयारी रहेको छ।

उनीनिकट स्रोतले भन्यो,‘विदेशको अभियान सकिएपछि नेपालको अभियानका विषयमा हामी तयार हुनेछौं। अहिले नै दल खोली हाल्ने भन्ने निर्णय भएको छैन, तयारीले त यस्तै संकेत गरेको सबैले भनेकै छन्।’

नेपालमा रहेको १८ घन्टासम्मको लोडसेडिङका बेला प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारीमा आएको केही महिनाभित्र नै कुलमानले देशलाई उज्यालो बनाएका थिए। 

सर्वसाधारण नागरिकका घरमा उज्यालो बनाउँदै राष्ट्रलाई भार पार्ने शक्ति केन्द्रको प्रभावमा रहेका उद्योगी ब्यापारीलाई बक्यौता महसुल बुझाउन कुलमानले बाध्य पारेपछि उनको चर्चा चुलिएको थियो।

सोही चर्चाले उनलाई अहिले अभियान चलाउनका लागि सहज भएको पनि मानिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति