नेभिगेशन
राजनीति

विद्या भण्डारीको पक्षमा खुल्नेलाई ओलीले यसरी चलाउँदैछन् कारबाहीको डन्डा

नेकपामा प्रचण्ड, माधवविरुद्धको अभियानमा आफूले प्रयोग गरेको मदन भण्डारी फाउन्डेशन अब ओलीविरुद्ध नै भण्डारीले उपयोग गर्न सक्ने त्राहीमाम फैलिसकेको छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्नेलाई निषेध गर्न र खुलेको खण्डमा कारबाहीका लागि निर्देशन जारी गरेका छन्।

प्रदेशका इञ्चार्जहरुसँग मध्यरातीदेखि बिहानसम्म बालुवाटारमा बैठक गरी उनले यस्तो निर्देशन दिँदै लामो प्रवचन पनि सुनाएको उच्च स्रोतले जनाएको छ। 

भण्डारी एमालेमा सक्रिय र ओलीको समानान्तर शक्तिका रुपमा उदय हुने भएपछि ओली यस्तो ‘कुटील निर्णय’मा पुगेका हुन्। उनलाई त्रास छ कि मदन भण्डारी फाउन्डेशनमार्फ भण्डारी एमालेको समानान्तर कार्यक्रम गरी अगाडि बढ्नेछिन्।

साउन ८ गते राति बालुवाटारमा सात वटै प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई भेला गरेर ओलीले जसरी पनि विद्या भण्डारीको समानान्तर राजनीतिक गतिविधि रोक्नुपर्ने बताएका थिए। 

प्रधानमन्त्री निवास बालुवाटारमा राति १० बजेर ४० मिनेटमा सुरु भएको बैठक बिहान ३ः३० बजेसम्म चलेको थियो। जहाँ ओलीले भण्डारीतिर लागेका नेता–कार्यकर्तालाई फकाउन, सम्झाउन र नमाने कारबाहीसमेत गर्न निर्देशन दिएका हुन्। 

नवीकरण भइसकेको सदस्यता खारेज गरेर पार्टीमा सक्रिय हुन रोकिएपछि भण्डारीले मदन भण्डारी फाउण्डेशनबाट राजनीतिक अभियान चलाउने र त्यो झापाबाटै सुरु हुने सूचना पाएपछि बिहीबार रातिको बैठकमा यस्तो रिपोर्टिङ भएर काउन्टर रणनीति बनेको हो। 

तर भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमा ‘आफ्नो सदस्यता कसैले खोस्न नसक्ने र आफू एमालेमै सक्रिय हुने’ बताएपनि राजनीतिक अभियानबारे केही खुलाएकी थिइन्। 

ओलीको यस्तो प्रभावको पहिलो उदाहरण राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी अध्यक्ष सुरज खरेललाई निष्कासन गर्नु हो। उनले अध्यक्ष ओलीका विषयमा सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। 

संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको थियो। साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको थियो।

त्यसको अघिल्लो दिन बालुवाटारमा ओलीको बैठक रहनु र भोलीपल्ट नै एक्शनमा जानुले ओली हतास, त्रसित र भयभित अवस्थामा बालुवाटारका कोठा चोटामा एमालेका विभिन्न नेताहरुलाई बोलाएर भण्डारीलाई रोक्ने अनेक छिर्के दाउ रचिरहेका पाइन्छन्।

रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधितको धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ।

भण्डारीलाई सक्रिय राजनीतिमा आउन हुने पक्षमा रहे पनि उपमहासचिव प्रदीप ज्ञवालीसहितका केही नेता मौनता साँधेर बसेको उच्च स्रोतले दाबी गरेको छ। यद्यपि उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायतका नेता भण्डारीका पक्षमा खुलेका छन्। 

भण्डारीको मेरुदण्डका रुपमा रहेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने ‘वेट एन्ड सी’को धारणामा रहेका छन्। ओलीलाई के पनि अर्को त्रास छ भने तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक रहँदा त्यसबेलाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताविरुद्ध आफूले चलाएको मदन भण्डारी फाउन्डेशनको अभियान अब ओलीविरुद्ध भण्डारीले उपयोग गर्न सक्छिन्।

भण्डारीको पत्रकार सम्मेलनको ब्यानरले पनि त्यो झझल्को देखाएको थियो। त्यहाँ एमाले र मदन भण्डारी जिन्दावाद भनिएको थियो भने पुष्पलाल, मनमोहन अधिकारीलगायतका नेताको तस्बिर राखिएको थिएन। तुलमा मदनको मात्र तस्बिर थियो। 

यसले पनि भण्डारीको झापादेखिको देशाटनमा फाउन्डेशनको भूमिका प्रभावी, प्रभावशाली र ओलीको अहंकारीय शक्तिको क्षयीकरण हुन सक्ने त्रास पैदा भएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति