नेभिगेशन
राजनीति

राजनीतिको इपिसेन्टरमा विद्या भण्डारीः यता भेटेर श्रेष्ठ अमेरिकामा, चीनबाट फर्केपछि खनालको बयान

काठमाडौं– नेपाली राजनीतिको केन्द्रविन्दु (इपिसेन्टर)मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई हेरिन थालिएको छ।

एमालेमा सक्रियता र भावी अध्यक्ष समेत बन्ने उनको धारणा सार्वजनिक भएपछि झनै महत्वका साथ हेरिएको छ। 

योसँगै पार्टीसँग सल्लाह नगरी भण्डारीसँग माओवादी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेट गरी अमेरिका प्रस्थान गरेका थिए भने चीन भ्रमण सकेर आएका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको टिप्पणीले पनि विभिन्न शंका गर्ने स्थान दिएको छ।

गत साता श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीलाई भेटेको विषय सार्वजनिक भएपश्चात नेकपा माओवादीभित्र तरंग सिर्जना भएको थियो।

माओवादी केन्द्रको पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँगको भेटबारे नेताहरूलाई जानकारी गराएका थिए। 

भेटबारे बाहिर सार्वजनिक भएपश्चात मात्र आफूले जानकारी पाएको र श्रेष्ठलाई सोधेको उनको भनाइ थियो।  

बैठकमा प्रचण्डले एमालेमा केपी ओली र विद्या भण्डारीमा वैचारिक र राजनीतिक रूपमा अन्तर नभएकाले नेतृत्वमा आउँदा वाम एकता भइहाल्ने भन्ने नभएको धारणा राखेका थिए। 

माओवादी केन्द्रले भने विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको उल्लेख गरको थियो। माओवादी केन्द्र उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्तिमार्फत पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको जनाएका थिए।

उक्त समाचारमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको थियो। 

माओवादीले एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा नचलेको सापकोटाले जनाएका थिए।

उता चीन भ्रमण सिध्याएर आएका खनालले एमालेमा भण्डारीको सक्रियतालाई सकारात्मक रहेको भनी टिप्पणी गरेका थिए। भण्डारीको राजनीतिमा पुनरागमनले नै कम्युनिस्ट एकताको खाका कोर्ने उनको संकेत थियो। 

भण्डारीको चीन भ्रमणपछि खनाल पुग्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति