काठमाडौं– नेपालीमा राजालाई ‘श्री ५ महाराजाधिराज’ भने जस्तै अंग्रेजीमा ‘हिज म्याजेस्टी द किङ’ भनिन्छ।
नेपालका लागि भारतीय राजदूतावासले अहिले पनि ज्ञानेन्द्र शाहलाई कुनै औपचारिक सम्बोधनका क्रममा ‘हिज म्याजेस्टी द किङ’ भन्ने गरेको छ।
उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ होस् वा अन्य कार्यक्रममा सहभागीता जनाउँदा हिन्दीमा ‘नेपाल नरेश’ नै भनेर सम्बोधन गरिएको छ।
नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले गरेको एउटा कार्यक्रममा दौरान ज्ञानेन्द्र शाहलाई अंग्रेजीमा हिज म्याजेस्टी द किङ नै भनिएको थियो।
तर, ज्ञानेन्द्रको निजी सचिवालयले वक्तब्य जारी गर्दा ‘श्री ५ महाराजाधिराज’ लेख्दा प्रहरीमार्फत सोधपुछ गर्न लगाइएको छ।
ज्ञानेन्द्र शाहको बक्तब्यमा ‘श्री ५ महाराजधिराज’ लेखेका कारण संवाद सचिव डा. फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरेको छ।
शुक्रबार परिसरमा बोलाएर सोधपुछ गरिएपछि यसको सर्वत्र प्रतिवाद हुन थालेको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकामा आपत्ति जनाएका छन्।
‘श्री ५ ज्ञानेन्द्र लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘यो सरकारको संकीर्ण मानसिकताको द्योतक हो।’
उनले ज्ञानेन्द्र नेपालका राजा भएको पनि दाबी गरेका छन्। ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन् । प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो,’ थापाले लेखेका छन्।
काठमाडौं प्रहरीले शुक्रबार पाठकलाई बयानका लागि बोलाएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको संविधानले नचिन्ने ‘श्री ५ महाराजाधिराज’लेखेर लेटर प्याड प्रयोग गरिएका प्रचारबाजी गरेको विषयमा प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
अब, नेपाल प्रहरीलाई सुझाव छ। भारतीय कुटनीतिक नियोग या त्यसका प्रमुखलाई बोलाएर सोधपुछ गर्ने कि नगर्ने? राजनीतिक दल र गृहमन्त्री रमेश लेखकको मनगढन्ते स्वार्थको आदेशको बन्दी नेपाल प्रहरी बन्न मिल्छ कि मिल्दैन?
यदि कानुनअनुसार नै सोधपुछ गर्ने हो भने भारतीय राजदूत र राजदूतावासका अधिकारीलाई सोधपुछ गर्नू।