नेभिगेशन
राजनीति

‘निजामती विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजियो’: वेदुराम भुसाल

काठमाडौँ- एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् ।

प्रतिनिधि सभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए । 

विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले राष्ट्रिय सभा सदस्यहरूलाई वितरण नगरिएकोमा उनले आपत्ति जनाएका हुन् ।

‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामती सेवासम्बन्धी विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो । तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन, ‘भुसालले भने, ’यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रूपमा विवाद उठेको छ । यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशंका जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका छ ।’

निजामती सेवाका र सरकारी कर्मचारीलाई अवकाश वा राजीनामापछि कुनै पनि संवैधानिक, सरकारी र कूटनीतिक लगायतका नियुक्ति २ वर्षसम्म लिन नमिल्ने व्यवस्था राज्यव्यवस्था समितिले गरेको थियो । सर्वसम्मतिले राखेको उक्त व्यवस्था निष्प्रभावी पार्ने गरी अर्को व्यवस्था कायमै राखिएकोमा विवाद भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति