नेभिगेशन
राजनीति

‘पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु’: रामहरि खतिवडा

काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।

संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए ।

विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् । संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’

बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह गरे । समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको उनले बताए ।

खतिवडाले पार्टीमा सभापति, उपसभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरे ।

‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौँ भने जनताले, कार्यकर्ताले के गर्ने ?,’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे ।

पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरे ।

‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस,’ खतिवडाले भने, ‘पार्टी पङ्क्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति