नेभिगेशन
समाज विविध

काठमाडौँको विष्णुमती नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले काठमाडौँको विष्णुमती नदी किनार आसपासका बासिन्दामा सतर्कता अपनाउन आग्रह गरेको छ। 

विभागले शुक्रबार साँझ सूचना प्रकाशन गर्दै विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाउन आग्रह गरेको हो। 

 


विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। 

हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको अवस्था छ भने कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा सबैभन्दा बढी ४३.२ मिलिमिटर पानी परेको छ। सोलुखुम्बु, पर्वत लगायतका जिल्लामा मध्यम पानी परिरहेकोले सो क्षेत्रका बासिन्दाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कलाकार लक्ष्मी श्रेष्ठको निधन