नेभिगेशन
राजनीति

एसइई नतिजाबारे प्रधानमन्त्री : कतिले अंक थपेर धेरै पास गराइयो भन्दै छन्

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले एसइई नतिजा सुधार भएर आएकोप्रति खुशी व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आज (शनिबार) को बैठकमा बोल्दै नतिजामा सुधार ल्याउन मेहनत गर्नेहरू सबैलाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले एसईईको नतिजा १४ प्रतिशतले वृद्धि हुनु सानो उपलब्धि नभएको बताएका छन् । स्पेन भ्रमणबारे संसद्लाई शनिबार जानकारी गराउने कार्यक्रममा उनले शुक्रबार आएको नतिजा उल्लेख्य भएको बताएका हुन् ।‘हिजो एसईईको नतिजा प्रकाशित भएको छ । गत वर्षभन्दा १४ प्रतिशतले वृद्धि भएको छ । धेरै वर्षपछि एसईईको नतिजामा उल्लेख्य प्रगति भएको छ । उत्तीर्ण हुनेलाई बधाई छ, उज्ज्वल भविष्यको शुभकामना,’ ओलीले भने, ‘कतिले अंक थपेर नतिजा निकालियो भनेर हचुवा कुरा गरेका छन् । विद्यार्थीको मेहनतले यो सम्भव भएको हो । ४८ प्रतिशतबाट ६२ पुग्नु पछिल्ला केही वर्षयताको उल्लेख ठूलो सफलता हो ।’

विद्यार्थी र शिक्षकको मेहनत सफल भएको उनले बताए । ’विद्यार्थीलाई पढाइको वातावरण बनाउने अभिभावक पनि धन्यवादका पात्र हुनुहुन्छ,’ उनले भने । खुशी प्रकट गर्नुपर्नेमा मेहनत गरेर पास गरेका विद्यार्थीलाई अपमान गरिएको भन्दै उनले आपत्ति जनाए । विद्यार्थी फेल नै नहुने स्थिति बनाउने गरी पढाइको गुणस्तर बढाउने समेत ओलीले बताए । आगामी वर्ष निःशुल्क रूपमा अनलाइन कक्षा सञ्चालन गर्ने उनले बताए । मौका परीक्षा दिनेलाई भोलिबाटै अनलाइनको सेवा शुरू हुने पनि ओलीले जानकारी दिए ।

तर, केही विज्ञ भनाउँदाहरूले अंक थपेर धेरै पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘केही मानिसहरूले अंक थपेर पास गराइयो भन्दैछन्, बिना आधार । मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने गरी बोल्दै छन् । हामी मेहनत गर्न सक्दैनौँ, नम्बरमा खेलबाड गर्नुपर्छ ?’ उनले शिक्षक र विद्यार्थीको मेहनतलाई अपमान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति