नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहीले भने- गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई संसदबाट बहिष्कार गरिरहेको बताउँदै आम नागरिकलाई पनि उनीहरूका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन्।

संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन यो कदम आवश्यक रहेकोमा जोड दिए।

शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए। उनले संसदले आफ्नो भूमिका निर्वाह गरिरहेको भए पनि नागरिक स्तरबाट पनि दबाब सिर्जना हुनुपर्नेमा जोड दिए। ‘हामीले संसदभित्रबाट बहिष्कार गरिरहेका छौँ, अब तपाईंहरू आम जनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस्,’ शाहीले भने, ‘यसले गर्दा दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन्।’

शाहीले भिजिट भिसाको दुरुपयोगले नेपाली युवाहरू विदेशमा अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले दोषीहरूलाई कारबाही नभएसम्म आफ्नो पार्टीले संसद र सडक दुवैबाट आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति