नेभिगेशन
सुरक्षा–अपराध

विद्यार्थी संघको नेता बनाउने भनेर युवतीको सामूहिक बलात्कार, ममताको पार्टीका नेता थिए!

काठमाडौं– विद्यार्थी संघको नेता बनाउने भनेर युवतीलाई सामूहिक बलात्कार गर्ने तीन जनालाई पश्चिम बंगाल प्रहरीले पक्राउ गरेको छ।

कोलकाताको ल कलेजमा एक छात्रालाई बलात्कार गरेको आरोप लागेका मध्य एक जना पूर्वविद्यार्थी समेत रहेका छन्। 

अभियुक्तहरू तृणमूल कांग्रेस छात्र परिषद् (टीएमसीपी) सँग सम्बन्धित रहेको दाबीले यो मुद्दालाई राजनीतिक रङ दिएको छ।

उक्त पार्टी मुख्यमन्त्री ममता बनर्जीको हो। 

यहि प्रकरणका कारण ममताको राजीनामा समेत माग गरिएको छ। विपक्षीले राजीनामा माग गरेका हुन्। 

टीएमसीपीले यी दाबीहरूलाई अस्वीकार गर्दै मुख्य अभियुक्त धेरै वर्षदेखि उनीहरूको संगठनमा सक्रिय नभएको बताएको छ। यद्यपि, उनीहरू कलेजमा अस्थायी कर्मचारीको रूपमा काम गरिरहेको भने जानकारी दिएको बीबीसीले जनाएको छ।

राष्ट्रिय महिला आयोगले तीन दिन भित्र कोलकाता प्रहरी आयुक्तबाट विस्तृत कारबाही प्रतिवेदन मागेको छ। आयोगकी अध्यक्ष विजया रहाटकरले प्रहरी आयुक्तलाई पठाएको पत्रमा यस घटनाप्रति चिन्ता व्यक्त गर्दै यसको गम्भीर अनुसन्धानको माग गरेकी छिन्। 

प्रहरीले विद्यार्थीको उजुरीको आधारमा तीनै जना अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ। 

शुक्रबार स्थानीय अदालतमा पेस गरेपछि तीनै जनालाई चार दिनको प्रहरी हिरासतमा पठाइएको छ।

यो मुद्दाले २०२४ मा कोलकाताको आरजी कर मेडिकल कलेज अस्पतालमा एक जुनियर डाक्टरको बलात्कार र हत्याको सम्झना ताजा गराएको छ। त्यतिबेला शैक्षिक क्याम्पसहरूमा सुरक्षाको मुद्दा पनि उठेको थियो। 

त्यो मुद्दाका एक मात्र अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

बुधबार साँझ दुई जना अभियुक्तलाई पक्राउ गरिएको थियो। उनीहरूबाट प्राप्त जानकारीको आधारमा तेस्रो अभियुक्तलाई राति १२ बजेतिर पक्राउ गरिएको थियो।

दुई अभियुक्तको नाम प्रमित मुखर्जी र जे अहमद हो। दुवै जना एउटै कलेजमा पढ्छन्। तेस्रो अभियुक्तको नाम मनोजित मिश्रा हो, जो कलेजका पूर्व छात्र हुन्। प्रहरीले तीनै जना अभियुक्तको मोबाइल फोन जफत गरेको छ।

शुक्रबार प्रहरी बाहेक, फोरेन्सिक टोलीले पनि घटनास्थलको भ्रमण गरेको थियो। अधिकारीले भने, ‘पीडितले उनलाई टीएमसीपीको कलेज युनियनको अध्यक्ष बनाउने वाचासहित क्याम्पस परिसरमा बोलाइएको र बलात्कार गरिएको बताएकी छन्।’

छात्राले प्रहरीलाई बताएअनुसार मनोजितले गत बुधबार आफूलाई संस्थाको अध्यक्ष बनाउने वाचा गर्दै कलेजमा बोलाएका थिए। उनी दिउँसो १२ बजेपछि कलेज पुगिन्। त्यसपछि मनोजितले उनलाई शारीरिक सम्बन्ध राख्न दबाब दिए। 

उनले त्यसलाई अस्वीकार गरे। त्यसपछि मनोजित र उनका दुई सहयोगीहरूले विद्यार्थीलाई जबरजस्ती गार्ड कोठामा तानेर लगे। गार्डलाई त्यहाँबाट लखेटेपछि बलात्कार गरिएको थियो।

यस मुद्दामा प्रहरीले पक्राउ गरेका मुख्य अभियुक्त मनोजित मिश्राको फेसबुक प्रोफाइल अनुसार उनी दक्षिण कोलकाता जिल्ला तृणमूल कांग्रेस छात्र परिषद्का संगठन सचिव हुन्। 

उनी यसअघि ल कलेजको टीएमसीपी शाखाका अध्यक्ष पनि भइसकेका छन्।

तृणमूल छात्र परिषद्का प्रदेश अध्यक्ष त्रिणांकुर भट्टाचार्यले पत्रकार सम्मेलनमा भने, ‘आरोपितलाई वर्षौँ पहिले संघ अध्यक्षको होइन, सानो पद दिइएको थियो। उनी वर्षौँदेखि ल कलेजको टीएमसीपी शाखामा पनि सक्रिय थिएनन्।’

मुख्य अभियुक्त मनोजित मिश्रासँग धेरै टीएमसीपी र तृणमूल नेताहरूको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थालेको छ। टीएमसीपीका प्रदेश अध्यक्ष तृणांकुर भट्टाचार्य पनि यी नेताहरूमा पर्छन्। (बीबीसीको सहयोगमा)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध