नेभिगेशन
राजनीति

समय सकिँदा समेत वाग्ले बोलिरहँदा माइक काटियो, फन्किएर सदन बहिस्कार भन्दै निस्किए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम बाग्लेले पाएको तीन मिनेटमा सदन बैठकमा आफ्ना कुरा नसिध्याएपछि माइक काटिँदा फन्किएका छन्। 

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि शंकरदास बैरागीको नेतृत्वमा समिति गठन गरेको जानकारी गराएपछि रास्वपा र राप्रपाका सांसद सदनमा उभिएका थिए।

सभामुख देवराज घिमिरेले डा. वाग्लेलाई तीन मिनेटमा आफ्ना कुरा राख्न समय दिए। उनले सो क्रममा बाहलवाला या पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउनुपर्ने भए पनि सत्ताले खल्तीबाट मानिस निकालेर बनाएको आरोप लगाए। 

सो क्रममा प्रवक्ता मनिष झाले ट्वीट गरेको स्मरण गर्दै अख्तियारले डामेका अध्यागमनका सह–सचिव तिर्थ भट्टराई र बैरागीको घाँटी जोडिएको, मर्निङ वाक पार्टनर रहेका कारण समिति मान्य नहुने बताउँदै गरेका बेला वाग्लेको माइक काटियो।

अनि, सभामुखले राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई तीन मिनेट समय दिएपछि वाग्ले फन्किएर टेबल ठटाउँदै सदन बहिस्कार भनी निस्किए। साथमा रास्वपाका उपस्थित सांसद पनि सँगसँगै निस्किएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति