नेभिगेशन
राजनीति

इरान–इजरायल र अमेरिका युद्धः दोस्रो भेनेजुएला प्रकरणबाट ब्याक भएका थिए प्रचण्ड

काठमाडौं– इरान र इजरायल युद्धमा अमेरिका हाम फालेपछि विश्व राजनीति पनि विभिन्न पक्ष र विपक्षमा केन्द्रित रहेको छ।

नेपालमा पनि यसको पक्ष र विपक्षको तर्क हुने गरेका छन्। तर, प्रदर्शनको नै तयारी समेत गरेका बामपन्थी ८ दलको योजना भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण रोकिएको छ।

उच्च स्रोतका अनुसार एमालेबाहेकका बामपन्थी दलले काठमाडौंमा इरानको पक्ष र इजरायल अनि अमेरिकाको बिरोधमा प्रदर्शनको तयारी गरेका थिए।

यस विषयमा बैठकका क्रममा छलफल र निर्णय गर्ने भनेपछि प्रचण्डलाई सोधियो। तर, प्रचण्डले अहिले प्रदर्शन गर्ने परिस्थिति नरहेको बताएपछि रोकिएको उच्च स्रोतले दाबी गरेको छ।

प्रचण्डले तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बेला गरेको भेनेजुएला प्रकरण दोहोरिन सक्ने सम्भावना देखेर यसरी ब्याक हुन परेको बताइन्छ।

के थियो प्रचण्ड जडित भेनेजुएला प्रकरण?

७ बर्षअघि दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा देखिएको आन्तरिक राजनीतिक कलह र त्यसमा अमेरिकी हस्तक्षेपले चर्चा पाएको थियो। 

दक्षिण अमेरिकी मुलुक भेनेजुएला प्रकरणमा नेपालको सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डका अडान परस्पर विरोधी देखा परेका थिए।

प्रधानमन्त्री ओलीले भेनेजुएला प्रकरणमा पार्टीका एक अध्यक्ष प्रचण्डको विज्ञप्ति ‘चिप्लिएको’ भन्दै अप्रत्यक्ष रूपमा कूटनीतिक गल्ती भएको स्वीकारेका थिए। 

तर प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको केही घण्टापछि नै प्रचण्डले जवाफ फर्काएका थिए। 

उनले ओली समेत सहभागी नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले गत सोमवार जारी गरेको विज्ञप्ति अगाडि सार्दै भेनेजुएला मामिलामा आफ्नो अडान आधिकारिक नै भएको बताएका थिए।

अमेरिकाले भेनेजुएलामा त्यस बर्षको जनवरीको अन्तिमतिर विकसित परिस्थितिबारे आफूले लिएको पक्षमा आउन अन्य मुलुकसमक्ष आग्रह गरेको थियो।

भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोले गत जनवरी २४ तारिख एउटा सार्वजनिक समारोहमा आफूलाई राष्ट्रपति घोषणा गरेपछि उनलाई अमेरिकाले समर्थन गरेको थियो।

तर प्रचण्डले उनको पार्टी नेकपाको नाममा जनवरी २५ तारिखमा अमेरिकाको कडा आलोचना गर्दै ‘अर्काको मुलुक अस्तव्यस्त तुल्याएको र हिंसा फैलाएको साम्राज्यवादी मुलुक’ भनेर विज्ञप्ति जारी गरेका थिए।

क्रिमिया रुसमा गाभिँदा र म्यानमारमा लाखौं लाख रोहिंज्याहरूलाई देश निकाला गर्दा केही नबोलेका नेताहरूले भेनेजुएलामा विकसित घटनाक्रमबारे हतारिएर गैरकूटनीतिक भाषायुक्त विज्ञप्ति दिँदा विश्वमञ्चमा नेपालको साख गिरेको कूटनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए।

प्रधानमन्त्री केपी ओलीले विश्लेषकहरूले व्यक्त गरेकै धारणासँग मिल्दोजुल्दो हुने गरी प्रचण्डको त्यसबेलाको हतारोको आलोचना गर्दै भनेका थिए,‘म भोलिपल्ट आउँदै थिएँ, अघिल्लै दिन वक्तव्य नदिइ नहुने केही कारण परेको थिएन। दिनुपर्ने जरुरी विषय पनि थिएन। अलि उपयुक्त भाषा पनि भएन।’

प्रचण्डले विज्ञप्ति जारी गरेका बेला प्रधानमन्त्री ओली डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा सहभागी बनेर नेपाल फर्किँदै थिए।

प्रचण्डको वक्तव्यपछि अमेरिकी विदेश मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावासले सरकारको धारणा माग गरेको थियो। त्यसपछि सरकारका नाममा परराष्ट्र मन्त्रालय र नेकपाको सचिवालयले विज्ञप्तिहरू जारी गरेका थिए।

प्रचण्डले ती विज्ञप्तिहरूले उनकै अडान अनुरुपका धारणा राखेको सम्झाउँदै भने, ‘पछि परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी भयो। त्यो पनि मेरो वक्तव्यकै मर्म अनुरुप थियो।’

तर टेलिभिजन कार्यक्रममा ओलीले प्रचण्डका भनाइलाई कम महत्व दिँदै भनेका थिए,‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभयो, अब त्यसकै पछाडि देश–देशका बीचका सम्बन्धहरू अडेको त हुँदैन।’

प्रचण्डले पनि सरकार र पार्टी सचिवालयको विज्ञप्तिको अडान उदृत गर्दै प्रधानमन्त्रीको भनाइको औचित्यमा प्रश्न उठाएका थिए।

प्रचण्डको वक्तव्यमा भेनेजुएलामा ‘साम्राज्यवादी कू’ को प्रयत्न गरेको मात्र नभइ अमानवीय आर्थिक नाकाबन्दी लगाएर अस्तव्यस्तता र हिंसा उत्पन्न गर्न खोजेको आरोप पनि लगाइएको थियो।

विज्ञप्तिको शुरुमै ‘नेपाल कम्युनिष्ट पार्टीले भेनेजुएलाका जनताको समर्थन गर्दै अमेरिकाको कडा भत्र्सर्ना गर्छ’ भनिएको छ।

कम्युनिष्ट मुलुक भेनेजुएलाको समर्थन गरेको नेपालको कम्युनिष्ट पार्टीको बलियो बहुमतको सरकारलाई केही अघि अमेरिकाले निकै महत्व दिएको थियो।

इरान र इजरायल अनि अमेरिकाको युद्ध प्रकरणमा पनि प्रचण्ड यहि अवस्थामा पुग्ने स्थिति बनिसकेको थियो।

अमेरिकाको विरोधमा जुलुस निकाल्न तात्तिएका वामपन्थी दलहरु प्रचण्डले नमानेपछि अन्तिम समयमा रोकिएका थिए। जुलुस आगामी बुधबार निकाल्ने खाका समेत तयार भैसकेको ८ दलीय बामपन्थी बैठकका एक सहभागीले बताए। 

प्रचण्डले नमानेपछि संयुक्त वक्तव्य जारी हुँदा प्रदर्शनबारे केही पनि आएन भने गोष्ठी गर्ने निर्णय भएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति