नेभिगेशन
राजनीति

रास्वपामा दुई महामन्त्रीः एउटा पार्टी निर्णयको, अर्को निर्वाचन आयोगको

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्को वैधानिक विवादको बाटोतिर लम्किएको छ।

शनिबार पार्टी स्थापना दिवसको अवसर पारेर बसेको केन्द्रीय समितिको बैठकले महामन्त्रीको जिम्मेवारीमा कार्यबाहक रहेका कविन्द्र बुर्लाकोटीलाई मनोनीत गरेपछि वैधानिक विवादमा लम्किएको हो।

यो बैठकले प्रवक्ताको जिम्मेवारीमा कार्यबाहक हटाएर मनिष झालाई नियुक्त गरिएको छ। जबकि, यो दुवै पद पार्टीबाट निष्काशित गरिएका मुकुल ढकालले दाबी गर्दै आएका थिए भने निर्वाचन आयोगले पनि सोही पत्र रास्वपामा पठाएको थियो। 

निर्वाचन आयोगको पत्रको बेवास्ता गर्दै रास्वपा केन्द्रीय समितिले अन्य उपचार खोज्नुको साटो हतारमा महामन्त्री र प्रवक्तामा बुर्लाकोटी र झालाई नियुक्त गरी विवादतिर लम्किने बाटो तय गरेको हो।

साधरण सदस्यबाट समेत निष्कासित ढकाललाई निर्वाचन आयोगले महामन्त्री रहेको भन्दै पत्र पठाएपछि उनी पार्टीमा फर्किने गरी सक्रिय भएका थिए। 

आयोगको पत्रपछि ढकालले पार्टीमा पुनस्र्थापित हुनुपर्ने बताउँदै कार्यबाहक सभापतिको जिम्मेवारीमा रहेका उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई पत्र लेखेका थिए।

तर रास्वपाले भने निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी व्यवस्थाविरुद्ध ढकाललाई महामन्त्री तोक्नु गलत रहेको भनी प्रश्न उठाएको थियो। ढकाललाई महामन्त्रीबाट हटाएको विवरण आयोगमा पठाइसकिएको उसको जिकिर थियो। 

तर निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको पत्र पठाएपछि अब रास्वपाले महामन्त्री र प्रवक्तामा गरेको नियुक्तिको आधिकारिकता के होला?

महामन्त्रीमा बुर्लाकोटी र प्रवक्तामा झालाई नियुक्त गरेको जानकारी निर्वाचन आयोगमा पठाएपछि यो विषयले वैधानिक विवादको श्रृङ्खला नै खडा गर्नेछ। 

यो विषय कानुनी रुपमा नै अगाडि बढ्न सक्ने सम्भावनाको बिजारोपण भएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति