नेभिगेशन
राजनीति

प्रतिनिधि सभा बैठकको समय आधा घण्टा सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय आधा घण्टा सरेको छ । दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठकको समय आधा घण्टाका लागि सरेको हो।  

जसअनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अब साढे ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जनाएको छ । 

आजको राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ । 

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ बैठकमा पेस गर्नेछन् । 

यसैगरी उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । 

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ । 

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् । यी दुई पार्टीले आफ्नो विरोध कायमै रहने आज सभामुखसँगको छलफलमा बताइसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति