नेभिगेशन
राजनीति

लामो समयदेखि आईसीयूमा छन् माओवादी जन्मदाता मोहन वैद्य, के–के समस्या छन्?

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीका जन्मदाता मध्यका एक मोहन वैद्य किरण लामो समयदेखि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत छन्।

सुरेश वाग्ले मेमोरियल क्यान्सर उपचार भवनको डिपार्टमेन्ट अफ पल्मोनोलोजी एन्ड क्रिटिकल केयर मेडिसिनको आईसीयूमा रहेका उनको अक्सिजन सहित बेडमा रहेका उनको धड्कन, रक्तचाप र शरीरको तापक्रप असिलोस्कोपले निगरानी गरिरहेको छ। क्रिटिकल केयर र मेडिसिनको डाक्टर छिनछिनमा आइरहन्छन्।

बिगत १० दिनदेखि आफन्तले कुरिरहेका छन् भने बाहिरका मानिसलाई भेटमा प्रतिबन्ध लगाइएको छ।

जतिबेला पनि अवस्था गम्भीर हुन सक्ने भएकाले उनलाई आईसीयूमै राखिएको डाक्टरको भनाइ छ। माओवादी छाडेर क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेका महासचिव उनी अहिले सिकिस्त बिरामी परेर उपचार गराइरहेका छन्।

दमको उपचारका लागि त्यहाँ पुगेका उनलाई निमोनियाको समेत समस्या थपिएको अस्पतालले जनाएको छ। अहिले उनलाई डिस्चार्ज गर्ने वा सामान्य बेडमा सार्ने अवस्था समेत नरहेको अस्पताल उच्च स्रोतले जनाएको छ। 

उनका अनुसार ७९ वर्षीय वैद्यलाई दम भएको लामो समय भइसक्यो। तर, यसरी साह्रो पारेको थिएन। २०७८ कात्तिकमा नर्भिक अस्पतालमा तीन दिन बसेर उपचार गरेपछि स्वास्थ्यमा निकै सुधार आएको थियो।

यसपटक श्वास–प्रश्वास र मुटुको चालमा समस्या देखिएपछि जेठ १८ देखि उनी शिक्षण अस्पतालमा उपचाररत छन्। वैद्यसँग काम गरेकाहरू उनको सरल जीवन र उच्च विचारबाट प्रभावित भएको बताउँछन्। सौम्य, सादा र सरल जीवनशैली उनको परिचय हो।

राजनीतिमा ‘किरण’ र साहित्यमा ‘चैतन्य’ नामले परिचित वैद्य उच्च कदका नेतामा पर्छन्। समकालीन नेतामध्ये राजकीय पद नलिएका दुर्लभ व्यक्तिमा पर्छन् उनी। कम्युनिस्टहरू इमानदार, मितव्ययी हुनुपर्ने उनको भनाइ छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति