नेभिगेशन
राजनीति

सदन खुलाउन कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर, रास्वपा आउट 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अडानलाई पाखा लगाउँदै कांग्रेस, एमाले र माओवादीबीच सदन खुलाउन दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ।

प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच २ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। 

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार शुक्रबार सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच २ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबार दिउँसो २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

कांग्रेस–एमाले र माओवादीबीच भएको सहमतिको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने उल्लेख छ।

दोस्रो बुँदामा भने अध्यागमन कार्यालयमा विगतदेखि देखिएका समस्याहरूलाई अध्ययन छानबिन गर्ने कुरा उल्लेख छ। यद्यपि यो सहमति औपचारिक रूपमा दलहरूले सार्वजनिक गरिसकेका छैनन्।

भिजिट भिसा प्रकरणमा अध्ययन तथा छानबिन त हुनेछ तर त्यसका लागि न जाँचबुझ आयोग बन्नेछ न संसदीय समिति। छानबिन गर्न सरकारले नै संरचना बनाउनेछ। 

कांग्रेस–एमाले र माओवादीबीच बिहीबार नै यो दुई बुँदामा सहमति बने पनि हस्ताक्षर भएको थिएन।

यो सहमतिसँगै रास्वपा प्रतिपक्षमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने प्रमुख दल भएको छ। नेकपा एकीकृत समाजवादी यसअघि नै लेखकको राजीनामाको पक्षमा बलियोगरी उभिएको थिएन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति