नेभिगेशन
राजनीति

दलहरूको सहमति कुर्दै सभामुख

काठमाडौँ । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच सहमति नजुटेपछि आज एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन ।

सभामुख देवराज घिमिरेलाई सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आफूहरू प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन सहमति गर्न लागिरहेकाले केहीबेर कुर्न आग्रह गरेका थिए ।

त्यही आग्रह अनुसार सभामुख घिमिरे सदन सञ्चालनका लागि दलहरूको सहमति कुरेर बसिरहेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

बिहीबार सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बिच जेठ १३ गतेबाट अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन सहमति भएको नेताहरूले बताएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसा प्रकरणमा भइरहेको लापरबाही छानबिन गर्न छानबिन समिति बनाउने विषयमा सहमति भएको नेताहरूको भनाइ थियो । तर, त्यो समिति बनाउने विषय लिखितमा अहिलेसम्म हुन सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल माओवादीले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता मागिरहेको छ । सत्तारुढ दलहरूले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा छानबिन गरिरहेकाले उसको छानबिन सकिएपछि मात्रै समिति बनाउने बताउँदै आएका छन् ।  


लिखित सहमति अहिल्यै गर्ने कि पछि गर्ने भन्ने विषयमा दलहरूबिच कुरा मिल्न सकेको छैन । भिजिट भिसा प्रकरणमा संसदमा अवरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी भने छानबिन समिति बनाउने विषयमा पनि सन्तुष्ट छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति