नेभिगेशन
राजनीति

आरजुले शोभालाई थर्काइछन्!

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री, सभापति शेरबहादुर देउवाकी पत्नी तथा केपी शर्मा ओली नेतृत्वको सरकारकी परराष्ट्रमन्त्री आरजु राणाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई थर्काएको खबर सार्वजनिक भएको छ। 

उक्त मिडियाको नागरिक दैनिकको अनलाइन संस्करणले आरजुले शोभालाई चार मिनेटसम्म गाली गरेको र धम्क्याएको खबर सार्वजनिक गरेको छ। 

अनलाइन संस्करण यस्तो लेख्छ–

नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएकी छन्।

राणाले स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट ज्ञवालीलाई दिउँसो १ः५३ बजे फोन गर्दै नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशयी गराइदिने चेतावनी दिएकी हुन्।

काठमाडौंको हिल्टन होटलसम्बन्धी समाचार सामग्री प्रसारण गरेका कारण पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको सेयर प्रकरणमा जोडेको समाचारका विषयमा परेको उजुरी आधारमा प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी  लिएर प्रहरी परिचालन गरिसकेको छ। पाठकविरुद्ध उजुरी जयवीरले दिएका हुन्।

यसैसम्बन्धी समाचार विवरण नागरिक र रिपब्लिकामा छापिएपछि परराष्ट्रमन्त्री राणा छाप्न नहुने भन्दै ज्ञवालीसँग आक्रोशित भएकी हुन्। ज्ञवालीले आफूलाई समाचारसम्बन्धी विषय जानकारी नहुने बताउँदा राणाले एकोहोरो करिब चार मिनेट गालीगलौज गरेकी थिइन्। राणाले पाठकको दर्ता नभएको युट्युब च्यानलबाट समाचार सामग्री आएका कारण विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही चलाउनुपरेको खुलासासमेत गरेकी थिइन्।

समाचार छापेको विषयमा परराष्ट्रमन्त्री राणाले दिएको धम्की सम्बन्धमा ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल, मानव अधिकार आयोग, पत्रकारिता र पत्रकारको सुरक्षाका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्थाहरू फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोटर्स विथआउट बोडर्स, युएन वुमन र नेपालस्थित युनेस्को कार्यालयलाई समेत जानकारी गराएकी छन्। राज्य संयन्त्र प्रयोग गरेर निर्देशक ज्ञवालीलाई दिइएको धम्कीप्रति नेपाल रिपब्लिक मिडियाले गम्भीर खेद प्रकट गर्दै आवश्यक छानबिनको माग गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति