नेभिगेशन
राजनीति

काँग्रेस-एमाले र माओवादीले कुर्सी साटासाटबाहेक केही गर्न सकेनन् : बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् ।

पार्टीको १० औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरूले १० वर्षका कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदांगो हुन थालेको उनले बताए । त्यस्तै, भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन विपक्षीलाई देखाउने प्रवृत्ति देखा परेको उल्लेख गरे ।

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरूबाट मुलुकको परिवर्तन नहुने देखाएको जिकिर गरे । आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठुला कुरा गरेर मात्रै नहुने उनको भनाइ छ ।

भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे । पार्टीको स्थापना दिवसका अवसरमा शुक्रवार काठमाडौँमा सुशासन र समृद्धिका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए । कार्यक्रममा पुराना नभई नयाँ बैंकल्पिक शक्तिहरू र पुराना दलबाट विद्रोह गरेका नेताहरूलाई आमन्त्रित गरिएको भट्टराईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति