नेभिगेशन
राजनीति
संश्लेषण

एमाले सर्वसत्तावादको टुप्पोमा ओलीः प्रतिस्पर्धीबिहिन बनाउने चेष्टामा भण्डारीको ‘बेनाम आलोचना’

उनले भने- अहिले यो समूह, त्यो समूह भन्ने कुरा आइरहेको छ। यसप्रकारका हल्लाको पछि लाग्ने होइन। कुनै समूह छैन

काठमाडौं– नेकपा एमाले आवद्ध अनेरास्ववियुको सम्मेलनमा पुगेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यतयः नेतृत्वमा आफू कायम नै रहने र बिरोधीको आवाज दबाइएको र प्रतिस्पर्धा नरहेको सन्देश दिने चेष्टा गरे। 

उनले सो क्रममा एमालेमा ७० बर्षको समयसीमा नरहेको दाबी गर्दै भने,‘मैं ७४ बर्ष पुगिसकें।’

यसक्रममा उनले बामदेव गौतम, भरतमोहन अधिकारी, झलनाथ खनाल, माधवकुमार नेपाललगायतलाई ७० बर्ष नपुगी हटाएको दाबी गर्दै नेतृत्व सान्दर्भिकताका आधारमा हुने बताएका थिए।

यसबाहेक भिम रावलको पनि तिव्र आलोचना गरेका ओलीले भनेका थिए,‘बाहिर बसेर गाली गर्ने, भित्र पदमात्र चाहिने यो पाराले चल्दैन।’

यसबाहेक ओलीको अर्को महत्वपूर्ण संकेतचाहिँ एमालेमा प्रतिस्पर्धा गर्ने कोही नरहेको पनि दाबी गरेका थिए। सो क्रममा एमालेको उत्तराधिकारीका रुपमा चर्चामा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा आएका चर्चा नाम नलिइनकन ‘बेनाम आलोचना’ गर्न पनि भ्याए।

ओलीको यस प्रकारको बक्तब्यबाजी र निर्देशनको खासगरी एउटा अर्थ लाग्ने बताइन्छ– सर्वसत्तावाद। अहिले उनले पार्टीको आन्तरिक लोकतन्त्रको अर्थ प्रतिस्पर्धा नै नरहेको भन्ने उदाहरण दिनु एमालेभित्र सर्वसत्तावाद हावी गराउन खोज्नु पनि हो। 

उनले भने,‘अहिले यो समूह, त्यो समूह भन्ने कुरा आइरहेको छ। यसप्रकारका हल्लाको पछि लाग्ने होइन। कुनै समूह छैन।’

अर्थात् ओली आफूमात्रै नेता रहेको भन्ने सन्देश दिन खोजिरहेका छन्। जुन सर्वसत्तावादी सोचको व्यवाहारिक संकेत हो। यसको संकेत केही दिनअघि चलाइएको तर आलोचना समेत रहेको ‘म झोले हो’ भन्ने असफल अभियान पनि हो। जसले तार्किक निचोड र सैद्धान्तिक अर्थलाई व्याख्या गर्न सकेन, जहाँ महासचिव शंकर पोखरेलले गरेको प्रयास पनि रुचाइएन।

यसले स्पष्ट भन्छ– ओली सर्वसत्तावादको टुप्पोमा उभिन चहान्छन्।

सर्वसत्तावाद एक यस्तो राजनीतिक प्रणाली हो जसमा सम्पूर्ण शक्ति एक व्यक्तिमा वा सत्तारूढ दलमा केन्द्रित हुन्छ, र राज्य नागरिकको जीवनको सबै पक्षमा नियन्त्रण गर्न खोज्दछ। 

यसमा व्यक्तिगत स्वतन्त्रता अत्यन्त सीमित हुन्छ र राज्यको आदेश सर्वोपरि मानिन्छ। सर्वसत्तावादी शासन प्रणालीमा सरकार केवल राजनीतिक मामिलामै सीमित हुँदैन; बरु, त्यो आर्थिक, सामाजिक, सांस्कृतिक र यहाँसम्म कि व्यक्तिगत विचार तथा व्यवहारहरूमा समेत हस्तक्षेप गर्छ।

सर्वसत्तावादको मूल विशेषता भनेको सत्ता र राज्यका सबै अंगहरू कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सञ्चार माध्यम, शिक्षा, धर्म, आदिलाई पूर्णरूपमा नियन्त्रणमा राख्नु हो। यस प्रकारको शासनमा एक नेता वा सत्ताधारी दलको व्यक्तिवादको पूजा गरिन्छ, जसलाई राष्ट्रको उद्धारकर्ता वा सबै समस्याको समाधानकर्ताको रूपमा चित्रण गरिन्छ। जनताको विचार, व्यवहार र समर्पण उक्त नेतृत्वप्रति पूर्ण रूपमा केन्द्रित हुनुपर्छ भन्ने मान्यता रहन्छ।

एमालेजनले अहिले यहि देखाउन खोजेको जस्तो प्रतीत हुन्छ। ओलीनिकट स्रोतले नै भन्छ,‘यो अभ्यास तत्कालका लागि ओलीका निम्ति फाइदाजनक भए पनि राजनीतिक भविष्य र एमालेको भविष्यका निम्ति कस्तो मार्गचित्र हो भन्ने स्पष्ट ब्याख्या हुन सक्तैन।’

सर्वसत्तावादी शासनले सुरक्षाको नाममा वा राष्ट्रिय एकताको बहानामा नागरिक अधिकारहरू कडाइका साथ सीमित गर्छ। सञ्चारमाध्यमलाई नियन्त्रणमा राखेर केवल सत्ताको पक्षमा समाचार प्रवाह गरिन्छ, जसले आलोचनात्मक सोचलाई दबाउँछ। सर्वसत्तावादले दीर्घकालीन रूपमा जनताको स्वतन्त्र सोच, रचनात्मकता र सामाजिक गतिशीलतालाई समाप्त पार्छ।

यस्तो शासन प्रणालीले स्थायित्व र अनुशासन त ल्याउन सक्छ, तर स्वतन्त्रता, मानव अधिकार, र लोकतान्त्रिक मूल्यहरूको पूर्ण हनन गर्दछ भन्ने मानक पनि छन्।  

सर्वसत्तावादलाई सत्ताको अत्यधिक केन्द्रीकरण र स्वतन्त्रताको समाप्तिको रूपमा बुझिन्छ। आजको युगमा यस्ता प्रणालीहरूप्रति विश्वभर चेतना बढिरहेको छ, र जनताले स्वतन्त्रता र उत्तरदायी शासनतर्फ बढी ध्यान दिन थालेका छन्।

बहुमत नभएको अवस्थामा ओलीले एमालेभित्र गरेको यस्तो अभ्यास नेकपा भएको बेला पनि देखाउन खोजेका थिए। तर, विविध विचारधारबाट प्रेरित अन्य राजनीतिक दल र नेता समेत रहेका कारण ओलीको यस्तो प्रयासको संकेत सफल हुन नसक्ने पनि बताइन्छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति