नेभिगेशन
राजनीति

धोका दिन माहिर प्रचण्डले सत्ता गुमाउनासाथ चार पटक भनेको समान ‘कथ्य’

काठमाडौं– ३५–४० बर्षदेखि केन्द्रीय राजनीतिमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता र सरकारको चासनीमा नमिठोसँग टाँसिएका कयन तथ्य छन्।

१८ बर्षदेखि सत्ता र प्रतिपक्षको लुकामारी गरिरहेका प्रचण्डले सत्ता हुँदा एकथरी र गुमेपछि समान कथ्य कथिहाल्ने गरेका छन्।

कुनै पनि दलको बहुमत नपुगेपछि धोका दिन माहिर रहेका प्रचण्डको पहिलो धोका शिलशिलाको लहरको चर्चा गरौं।

संविधान सभाको निर्वाचन ०६४ मा पहिलो दल बनेपछि सरकार बनाउने दायित्व पाएका प्रचण्डले पहिलो धोका गिरिजाप्रसाद कोइरालालाई दिएका थिए। 

प्रचण्ड आफैंले पनि उक्त धोकाबारे बारम्बार स्वीकार गरेका छन्। उनले कोइरालालाई गणतन्त्र घोषणा गरी नेपालको पहिलो राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। 

तर राष्ट्रपतिको निर्वाचनमा उनले कोइरालालाई नभई रामराजाप्रसाद सिंहलाई मैदानमा उतारे। तर, सिंहले पनि प्रचण्डबाट धोका पाए, पराजित भएर।

उनले पछिल्लो पटकको धोका भने ०७९ को पुसमा शेरबहादुर देउवालाई दिएका थिए। सत्ता गठबन्धन गरी निर्वाचनमा गएका प्रचण्डले देउवालाई गठबन्धनबाट धोका दिएर चुनावअघिसम्म मुखभरीको गाली गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर सरकार गठन गरेका थिए। 

सभामुख र राष्ट्रपति एमालेलाई दिने सहमति गरेका प्रचण्डले सोही साल दोस्रो धोकाचाहिँ ओलीलाई दिए, राष्ट्रपतिमा साथ नदिएर। 

कागजी सहमति गरे पनि प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरिदिए। जसवापत उनले देउवाबाट समर्थन लिएका थिए। 

उनले पार्टीको आन्तरिक जीवनमा त दुई लाइन संघर्षका नाममा मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईलाई दिएको धोकाको शिलशिला लामो नै रहेको बताइन्छ। यहाँसम्मकी पछिल्लो पटक उनले बाबुरामलाई त ‘बुद्धि नभएको डाक्टर’ भनी तीन ठाउँमा टिप्पणी गरेका थिए।

‘प्रचण्ड प्रयोगवादी र त्यसको लाभ उठाउन मात्र खोज्ने नेता हुन्’, उनीनिकटस्थ रहेका राजनीतिज्ञहरु भन्छन्,‘त्यसैले उनलाई पछिल्लो पटक ओली र देउवा मिलेर धोका दिए, अहिले रन्थनिएका छन्।’

त्यसपछि सत्ता गुमाएका प्रचण्डले पहिलाको जस्तो समान कथ्य रचेका छन्। उनले जनतासँग ‘माफी’ मागेका छन्। ‘उनको यो ओठे माफी हो। सत्ता गुमेपछि कहाँ जाने भनेर गरिने खेल हो’, प्रचण्डलाई भित्रबाट बुझेकाहरु भन्छन्,‘त्यो देखिँदा कति मिठो लाग्छ तर आन्तर्यमा गहिरो हुन्न।’

हुन पनि नेपाली राजनीतिमा प्रचण्ड नै ति पात्र हुन् जसले ‘रुप र सार’को व्याख्या गरेका थिए।  

उनले पहिलो पटक प्रधानसेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गर्ने निर्णय गरेपछि ०६५ मा सरकार छाड्न परेको थियो। त्यसबेला कटवाल चलाउनु गल्ती रहेको पनि बताउने प्रचण्डले ‘नागरिक सर्वाेच्चता’का नाममा आन्दोलन मात्र चलाएनन् प्रधानमन्त्री बनेका माधवकुमार नेपाललाई ‘विष वृक्ष’ समेत भनेर टिप्पणी गरे अनि जनतासँग माफी मागेर फर्किएको बताए।

०७३ मा संविधान ढिलो जारी गरेको भनी माफी माग गरे र जनतातिर फर्किएको बताए। त्यसबेला उनलाई ओलीले प्रधानमन्त्री पद नछाड्दा सरकार गिराउँदै देउवासँग नौ–नौ महिनाको आलोपालो प्रचलन सुरु गरे। 

०७९ मा पनि नेकपा विभाजन भएपछि एमालेसँग एकीकरण गर्नु गलती भएको भन्दै माफी मागेका थिए। 

र, हाल १८ महिनासम्म सरकारमा बसेर पदच्युत भएपछि जनतातिर फर्किएको भनी माओवादीको अभियान चलाउँदै हिँडेका उनले शहीद बेपत्ता र घाइते सम्झिएको बताउँछन्। ‘यी गोहीका आँसुजस्ता भए, १८ बर्षसम्म माफी मात्रै दिइरहने हुन् जनताले?’, उच्च स्रोत सोध्छ,‘कहिलेसम्म प्रचण्डलाई माफी दिएर सत्तामा राख्ने होला?’

चार पटक सत्ता गुमाएपछि प्रचण्डले समान विषयको बयानबाजी गरेका छन्। सत्ताबाट ओर्लिनासाथ उनको एउटै कथ्य हुन्छ,‘हामी जनतातिर फर्कियौं। हामीले शहीद, बेपत्ता र घाइतेका विषय सरकारमा पुगेपछि भुल्यौं। माफी दिनुहोस् हामी जनतातिर फर्कियौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति