नेभिगेशन
राजनीति

राजावादीलाई चक्रपथ छिर्न नदिन ओलीको हठ, अवस्था हेरेर निर्णय लिनु उचित हुने सुरक्षा निकायको सुझाव

काठमाडौं– राजावादी संघ संस्था र पार्टीसहितले विहीबारदेखि गर्ने भनेको प्रदर्शन र आन्दोलनलाई चक्रपथ बाहिर नै सीमित राख्न प्रधानमन्त्री ओलीले हठ देखाएका छन्।

सुरक्षा निकायका प्रमुखसँगको ब्रिफिङका क्रममा उनले त्यस्तो हठसहित निर्देशन दिएको उच्च स्रोतले जनाएको छ।

चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

स्रोतका अनुसार वैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस बिषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए।

राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।

नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ। सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन्।

राजावादीको कार्यक्रम कहाँ गरिने भनेर अहिलेसम्म पनि टुङ्गो लागेको छैन। प्रधानमन्त्री ओली तानाशाही र निरङ्कुश अनि भिडन्त गराउने अभिप्रायमा लागेको राप्रपाले आरोप लगाइसकेको छ।

सत्ता साझेदार नेपाली कांग्रेसका नेता तथा सांसदहरुले पनि प्रधानमन्त्री ओलीको उक्त व्यवाहारको जिम्मा लिन नसकिने जनाइसकेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति