नेभिगेशन
अर्थ विविध

‘नयाँ बजेट आउन २ दिन मात्रै बाँकी हुँदा अहिलेकै ६ खर्ब ६१ अर्ब बजेट खर्च भएन’

काठमाडौं- आगामी वर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ । यसवर्षका लागि ऋणको सावा ब्याज भुक्तानीका लागि ३ खर्ब भन्दाबढी बजेट सरकारले छुट्याएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले अबको दुई दिनपछि अर्थात बिहीबार बजेट ल्याउँदैछ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि बनेको संविधान र त्यहाँ राखिएको व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ मा बजेट ल्याउनुपर्छ । सोहीअनुसार निर्धारित दिनमै बजेट ल्याउनका लागि अर्थ मन्त्रालयले घनिभुत रुपमा बजेट निर्माणको कामलाई तीव्र पारेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको दौडधुप बढेको छ, मंगलबार मात्रै अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर बजेटबारे बिफ्रिङ गरेका थिए । अर्थ मन्त्रालयले चारैतिरका ढोका थुनेर बजेट लेखनको कामलाई अन्तिम रुप दिइरहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने दिन दुई दिन मात्रै बाँकी रहँदा सरकारले अहिलेकै ठूलो बजेट खर्चै गर्न सकेको छैन ।

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटलाई नयाँ सरकार बनेपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयनको जिम्मेवारी पाएका थिए । सोमबारसम्ममा कुल बजेटमध्ये जम्मा ६६ प्रतिशत बजेट खर्च भएको छ । अझै सरकारले चालु आ.व.का लागि ल्याइएको बजेटमध्ये ६ खर्ब ६१ अर्ब बजेट खर्च गर्न बाँकी छ ।

जहिल्यै ठूलो बजेट ल्याउने तर खर्च गर्न सरकार चुक्ने गरेको छ । चालु शिर्षकमा सरकारले अझै ३ खर्ब ३६ अर्ब बजेट खर्च गर्न बाँकी छ । अन्य शिर्षकमा भन्दा विकासतर्फ अति कम बजेट विनियोजन गरेको सरकारले त्यही छ खर्च गर्न सकेको छैन । पुँजीगत शिर्षकमा अझै सरकारले २ खर्ब २३ अर्ब भन्दा बढि रकम खर्च गर्न बाँकी छ ।

आगामी वर्षका लागि ठूलो बजेट ल्याउन खोजिरहेको सरकारलाई ऋणको दायित्वले यो वर्ष २ खर्ब ६६ अर्ब बजेट खर्च गरिसकेको छ । यस वर्षका लागि ऋणको साबा ब्याज भुक्तानीका लागि ३ खर्ब भन्दाबढी बजेट सरकारले छुट्याएको थियो । यस वर्षका लागि गत जेठ १५ मा बजेट ल्याएका निवर्तमान अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्रीले नै बजेट कार्यान्वयनमा चासो नदेखाउँदा खर्च हुन नसकेको बताउँछन् ।

उनकाअनुसार ”प्रधानमन्त्रीले नै चालु बजेटको खण्डन गर्दै हिँड्नुभएको छ, चित्त नबुझे मध्यावधी बजेट ल्याउन सक्नुहुन्थ्यो । बजेटको आलोचना गर्दै हिँड्नुभएका प्रधानमन्त्रीले मैले राम्रो गर्दैछु, अर्थतन्त्र सही दिशामा छ भन्दै हिँड्नुभएको” पुनले बताए । पूर्वअर्थमन्त्री पुनले प्रधानमन्त्री स्वार्थ समूहको इसारामा चलेको समेत आरोप लगाए । स्वार्थ समूहको इसारामा फाइदा उठाउनतर्फ प्रधानमन्त्री, अर्थमन्त्री लाग्दा बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको उनको तर्क रहेको छ ।

माओवादी उपमहासचिव समेत रहेका पुनकाअनुसार नयाँ चरणको आर्थिक सुधार गर्ने नीति लिएर तत्कालिन बजेट ल्याइएको थियो । त्यो कुरा आजको आवश्यकता पनि थियो । चालु वर्षको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य प्रक्षेपण गरेको थियो । त्यो सम्भव पनि थियो । अहिले ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि देखिरहेको छ ।

त्यसअर्थमा पनि त्यो बजेट सही रहेको पुष्टि हुन्छ । यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेको भए त्यो भन्दा राम्रो हुने थियो । विचौलिया स्वार्थ समूहको प्रभावमा नपरेको भए अझ राम्रो हुन्थ्यो । प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई गम्भीर रुपमा बुझ्न नसकेको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध