नेभिगेशन
समाज विविध

नेपालमा डेढ साताअघि नै भित्रिँदै मनसुन

काठमाडौं- यस वर्षको मनसुन सरदरभन्दा कम्तीमा डेढ साताअघि नै भित्रिने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

महाशाखाले मंगलबार बुलेटिन जारी गर्दै सरदरभन्दा चाँडै, यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने आकलन गरेको हो।

शनिबारसम्म मनसुन भित्रिए पनि सरदरभन्दा १० दिन अगाडि हुनेछ। नेपालमा १३ जुनमा मनसुन भित्रिनुलाई सरदर भनिन्छ। सरदरभन्दा केही दिन अघिपछि मनसुन भित्रिने गरे पनि यसपटक डेढ साता चाँडै प्रवेश गर्न लागेको हो।

महाशाखाले भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलको तथ्यांक विश्लेषणका आधारमा यसै साताको अन्त्यसम्म मनसुन प्रवेश हुन लागेको उल्लेख गरेको छ।

यसपटक माल्दिभ्सको तटीय क्षेत्र, श्रीलंकाको तटीय क्षेत्र र हिन्द महासागरमा नै  १० दिनअघि अर्थात्  १३ मेमा मनसुन उत्पत्ति भएकाले नेपालमा पनि चाँडै भित्रिन लागेको हो। भारतको केरलामा ३१ मे वा १ जुनमा मनसुन भित्रिने गरेकामा यसपटक ६ दिनअघि नै पुगेको थियो।

मुम्बइमा १५ दिनअघि नै मनसुन भित्रिसकेको छ। भारतको जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन उत्तर–पूर्व भएर अगाडि बढिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्ष पनि बर्खामा देशभर अत्यधिक वर्षा हुने प्रक्षेपण गरिसकेको छ। बाढी, पहिरो तथा मौसमजन्य अन्य विपत्को जोखिम उच्च हुन सक्छ। यसपालि प्रारम्भिक चरणमा केही दिनको वर्षापछि लामो समयसम्म खडेरी र सुक्खा हुने अवस्थासमेत देखिने अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध