नेभिगेशन
राजनीति

रास्वपाको बटमलाइन पनि ‘त्यहि’ हुनेछ सदनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको बैठक असामान्य हुने प्रतिक्रिया जनाउनुको एउटै अर्थ बुझिएको छ।

जसरी त्यसबेला गृहमन्त्री रहेका आफ्ना सभापति रवि लामिछानेविरुद्ध नेपाली कांग्रेसले छानबिन समिति गठन नगरी सदन चल्न दिएन अहिले भिजिट भिसा प्रकरणमा पनि रमेश लेखकबारे छानबिन समिति नबनी सदन चल्न दिने पक्षमा रास्वपा छैन।

प्रमुख प्रतिपक्षी माओवादी, रास्वपा, राप्रपा र सत्तारूढ जसपा नेपालले निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग अघि सारेका हुन्। 

विपक्षी दलहरूले भिजिट भिसा असुलीमा गृहमन्त्रीकै सचिवालयको संलग्नता देखिएको, गृहमन्त्रीले पठाएका कर्मचारीको नेतृत्वमा ठगी मौलाएको प्रारम्भिक छानबिनमा देखिएको ठहर गर्दै थप अनुसन्धानलाई निष्कर्षमा लग्न गृहमन्त्री लेखकले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। 

गृहमन्त्री लेखकले राजीनामा नदिए मंगलबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भिजिट भिसाबारे जवाफ दिन गृहमन्त्री लेखकले मंगलबारका लागि समय मागेका छन्। विपक्षी दलहरूले भने पहिला प्रश्न गर्न पाउनुपर्ने, त्यसपछि जवाफ सुन्ने र चित्त नबुझे संसद् अवरुद्ध गर्ने रणनीति बनाएका छन्। 

माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरण संसद्मा सशक्त आवाज उठाउने निर्णय गरेको छ। 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागिनेछ । यसका लागि विपक्षी दलहरूबीच अनौपचारिक सहकार्यको सहमति भइसकेको छ। 

सोमबारै बसेको रास्वपा संसदीय दलको बैठकले पहिला प्रश्न सोधेर मात्रै गृहमन्त्री लेखकको जवाफ सुन्ने र चित्तबुझ्दो नभए अवरुद्ध गर्ने निर्णय गरेको छ। 

रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पहिला प्रतिपक्षीले सदनमा प्रश्न सोध्न पाउनुपर्छ। प्रश्न सोध्न नपाईकन लेखकले जवाफ दिएर लुसुक्क हिँड्ने हुन नदिने रास्वपाको तयारी छ। 

लेखक अहिलेका गृहमन्त्री हुन्। कार्यवाहक प्रवक्ता झाले विगतमा मन्त्रीलाई बोल्न नदिएर कांग्रेसले २२ दिन संसद् अवरुद्ध गरेको स्मरण पनि गराए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति