नेभिगेशन
अर्थ विविध

प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात

काठमाडौं - नेपाल विद्युत प्राधिकरणले भारत विद्युत निर्यात शुरु गरेको छ । शनिबार रातिबाट भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिए ।

शनिबार राति २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको उनले बताए ।


केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत निर्यात गर्न थालेको हो । भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत भएको छ ।


नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको प्रवक्ता सिल्पकारले जानकारी दिए ।


अहिले पिक समयमा १९५० मेगावाट विद्युतको माग छ । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको उनको भनाइ छ ।


पिक डिमान्ड भएको समय र दिनमा भने अझै पनि भारतबाट विद्युत आयात भइरहेको छ । मंगलबार भारतबाट २ सय ७८ मेगावाट विद्युत आयात भएको उनले बताए ।


यो वर्षको सुख्या याममा नेपालले एक हजार मेगावाटसम्म विद्युत भारतबाट आयात भएको थियो । बर्खाका बेलामा नेपालले विद्युत निर्यात गर्दै आएको छ ।


गत वर्षदेखि नेपालले आयात गरेको भन्दा निर्यात गरेको विद्युतको परिमाण बढी भएको थियो । अर्थात्, नेपाल खुद विद्युत निर्यातक बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध