नेभिगेशन
समाज विविध

सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सभापतिको आलोचना

काठमाडौँ - सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरूलाई उपस्थिति नगराइएको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । 

सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसदहरूले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरूलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् । 

समितिका तीन जना सदस्यहरूलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरुले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताए । बैठकमा समिति सभापतिको सदस्यहरुले आलोचना गरेका थिए । 

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सरस्वती सुब्बाले एउटा प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदहरूलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाइन् । उनले सगरमाथा संवादका लागि अर्को हकदार समिति पूर्वाधार विकास समिति भएपनि त्यहाँबाट समेत सांसदहरू नबोलाइएको गुनासो गरिन् । 

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतले सगरमाथा संवादका क्रममा सभापति थापाले आफूलाई मन परेको व्यक्ति छानेर सहभागी गराएको आरोप लगाइन् । उनले सगरमाथा संवाद आयोजनामा छिमेकी राष्ट्रका उच्च तहका पदाधिकारीहरू सहभागी नहुनुले नेपालको स्तर मापन भएको बताइन् । कामको जिम्मेवारी वहन गर्न नसकेको भन्दै उनले सभापति थापाको राजीनामा समेत मागिन् । 
समितिको बैठकमा सभापति थापाले रुलिङ गर्न नसकेको र समितिको नेतृत्व गर्न नसकेको आरोप लगाएपछि सभापति थापाले पनि सांसद कठायतसँगै सिक्नुपर्ने भन्दै आक्रोश पोखिन् । जवाफमा सांसद कठायतले पनि आफूबाट सिक्न आग्रह गरिन् । 

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरूसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाइन् । 

उनले पारदर्शी रूपमा समितिका निर्णयहरू हुनुपर्ने बताइन् । समितिको बैठकमा सांसदहरूले समितिको वार्षिक प्रतिवेदनमाथि पनि असन्तुष्टि जनाए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतले समितिको प्रतिवेदनमा सबै आदेश मात्रै रहेको र कामै नलाग्ने भएको बताएपछि एमाले सांसद सुब्बाले काम नलाग्ने भए आगो लगाइदिनुपर्ने बताइन् । 

 जवाफमा सभापति थापाले समितिको वार्षिक प्रतिवेदन समितिका ३९ वटा बैठकको पुँजी भएको र कोही सदस्यहरूलाई मन नपरेको भए जलाउन सक्ने जवाफ दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध