नेभिगेशन
राजनीति

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान कर्णालीमा

दैलेख - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा सुर्खेतको राकम कर्णालीमा जनसंवाद सम्पन्न भयो ।


सुदूरपश्चिमको बैतडी पाटनबाट सुरु गरिएको अभियान अछाम हुँदै दैलेखको कर्णाली पुल पार गरी राकम कर्णालीमा प्रवेश गरेको हो । अभियान अन्तर्गत आज दिउँसो १ बजे दैलेख सदरमुकाममा भव्य जनसभा आयोजना हुने कार्यक्रम रहेको छ ।


राकममा सम्पन्न जनसंवाद कार्यक्रममा प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए । 


उनले भने- 'मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान सं ग जोडिएको छ ।'


सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता  भएको उनले बताए ।


यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको छ उनले भने ।


कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने, र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा  माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको जानकारी दिँदै स्थानीयता लाई सरक्षण र प्रवर्द्वन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको उनले बताए । त्यसैले   यो अभियान मा साथ दिन अपिल समेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति