नेभिगेशन
राजनीति

भट्टराईलाई ओलीले भनेका थिए– शिक्षामन्त्रीबाट राजीनामा दिएको बाहिर नभन्नू, अरु के–के भएका थिए?

काठमाडौं– शिक्षक आन्दोलनबीच तत्कालिन शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा प्रकरणपछिका अनेक प्रसङ्गका विषय सतहमा आएका छन्।

बालुवाटारमा राजीनामा बुझाएर डेरा पुगेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई फोन गरेका थिए। त्यसअघि राष्ट्रिय सभा सदस्य रहेका दुई जनालाई शिक्षामन्त्रीको पद अफर गरेका ओलीले भट्टराईलाई टेलिफोन गरी भनेका थिए,‘राजीनामा दिएको कुरा बाहिर हल्ला नगर्नू, फेरि पनि यो मन्त्रालय तपाईंले नै निरन्तरता दिनुपर्ने हुन सक्छ।’

खासगरी भट्टराईको राजीनामा हात परेपछि ओलीले राष्ट्रिय सभा सदस्य रहेका भगवती न्यौपाने र अञ्जान शाक्यलाई शिक्षामन्त्रीको अफर गरेको चर्चा छ। यद्यपि यस विषयमा सोही समयमा शाक्यले आफूले मन्त्री पद नताकेको प्रतिक्रिया दिए पनि न्यौपानेको नाम आएको थिएन।

भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई एसएमएस गरी जानकारी गराएकी थिइन्। यसैकारण पनि ओलीले बाहिर नभन्नू भने पनि यो सूचना दुई जनामा मात्र सीमित नरहेको पनि बताइन्छ।

भट्टराईले ओलीसमक्ष शिक्षक आन्दोलन समाधानका ७ वटा सुझाव दिएकी थिइन्। त्यसमा ओली सहमत नभएपछि उनको प्रतिक्रिया थियो,‘मैले शिर झुक्ने काम गरिन। प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदासमेत प्रष्ट भाषामा भनेकी थिइन्, ‘तपाईंले जिम्मेवारी त दिनुभयो तर काम गर्ने वातावरण दिनुभएन। प्रधानमन्त्रीको सहयोग बिना मन्त्रीले केही गर्न सक्दैन, मैले सहयोग पाइन।’

कतिपयले भट्टराईको राजीनामाको जानकारी रिमालले पाए पछि ओलीका आईटी सल्लाहकार असगर अलीसम्म पनि जानकारी पुग्यो। अलीको काममा तगारो बनेकी भट्टराईको राजीनामाको विषय ओलीको सल्लाहकार समूहबाट नै व्यापक रुपमा मिडियामा चुहावट गरिएको पनि बताइन्छ।

यो विषयको सन्दर्भ एमाले सचिवालय बैठकका क्रममा ओलीले भट्टराईबारे गरेको टिप्पणीपछि सार्वजनिक भएको हो। भट्टराईको राजीनामापछि तत्कालै मन्त्री बन्ने इच्छा नदेखाएका कतिपयबीच ओलीले रघुजी पन्तलाई त्यो जिम्मेवारी दिएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति