नेभिगेशन
समाज विविध

बाल मन्दिर जग्गा प्रकरण : ३ जनाको मत्यु भएकाले चलाइएन मुद्दा

काठमाडौं- बाल मन्दिरको जग्गा भाडा प्रकरणमा घोटाला गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार बुधबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

सीआईबीले यो कसुरमा २० जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको थियो । तीमध्ये तीन जनाको मृत्यु भइसकेको पाइएको छ । मृत्यु भएको भन्दै तीन जनाको हकमा मुद्दा नचल्ने निर्णय गरिएको छ ।

मृत्यु भएका कारण मुद्दा नचल्नेहरूमा बृहस्पती विद्यालय व्यवस्थापन प्रालि (वृहस्पती विद्यासदन)का अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरन्जिवि तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरुद्ध मुद्दा नचल्ने निर्णय भएको अभियोगपत्रमा उल्लेख छ ।

उनीहरू बाहेक १७ जनाविरुद्ध ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गर्दै ठगीको कसुरमा मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अनुसारको ठगी कसुरमा मुद्दा दायर भएको छ । जसमा ७ वर्षसम्म कैद हुनसक्ने उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध