नेभिगेशन
राजनीति

'गभर्नर' मा अड्किए ओली: प्रचण्डसँग 'फोटो', देउवालाई सन्देश !

काठमाडौँ - सरकार ढल्यो ढल्यो भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बारको भाषणले पेचिलो बनेको राजनीति कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड भ्रमणबाट चिरिएको दाबि गरिएको थियो । तर घटनाक्रमले एमाले र कांग्रेसबीच सबै कुरा ठिक नभएको देखिएको छ ।

अहिलेको सत्ता गठबन्धनमा खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच 'गभर्नर' को विषयमा सहमति नभएको र यसले सरकारको भविष्यनै संकटमा परेको विश्लेषण गरिएको छ । आउँदो जेठ १५ मा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने तयारीमा रहेको सरकारको भविष्यनै अन्योलमा परेको छ । घटनाक्रमले प्रधानमन्त्री ओली कुनैपनि अवस्थामा गभर्नर लिने पक्षमा देखिएपछि यो विषय राजनीतिक दाउपेचको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग गभर्नर दिने मौखिक सहमति गरिसकेका छन् तर व्यबहारमा उनले प्रचण्डसँग नजदिकी बढाउदै गरेको देखिएको छ ।

यस्तै दृश्य सोमबारको संसद बैठकमा देखियो । सोमबारको संसद बैठकमा प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रमको कडा आलोचना गरे तर प्रधानमन्त्री ओलीले प्रचण्डप्रति सौहार्दता देखाएर र संसद बैठकमै भलाकुसारी गरे । जुन तस्बीर सामाजिक संजालमा भाइरल समेत भएको छ । यसअघि ओली र प्रचण्डबीच आइतबार भेटवार्ता भएको थियो । संक्रमणकालीन न्यायका विषयमा छलफल भएको भनिएको सो भेटघाट, अर्को दिनको संसदको सौहार्दपूर्ण कुराकानीले ओलीलाई देउवाबाट टाढा लादै गरेको अनुभव राजनीतिक वृतमा हुन थालेको छ । यसको फलोअपको रुपमा अर्थमन्त्री विष्णु पौडेलले मंगलबार बिहान खुमलटार पुगेर प्रचण्डसँग गरेको छलफलपछि कतै एमाले- माओवादी फेरी एक ठाउमा आउन लागेका त होइनन् ? भन्ने राजनीतिक प्रश्न उब्जाएको छ ।


एक अर्कालाई पछिल्लो १० महिनामा गालीगलोजको तहमा उत्रिएका ओली र प्रचण्डको पछिल्ला तीन दिनको सामिप्यताले काँग्रेसलाई तरंगित नबनाएको भएपनि झस्काएको भने पाइएको छ । नेताहरुले स्पष्ट प्रतिक्रिया नदिएपनि कांग्रेसमा सरकारप्रति देउवा बाहेक अन्य नेताहरु विरोधमा रहनुले ओली र उनको टिम दिक्क बनेको बताइएको छ । यसको ट्रेलरको रुपमा संसदमा सोमबार ओली निकट एमाले सांसद सुर्य थापाले दिएको अभिव्यक्तिलाई लिन सकिन्छ । उनले कुलमान हटाएको विषय देखि आम रुपमा सरकारप्रतिको धारणाको विषयमा कांग्रेसका नेताहरुलाई कटाक्ष मात्र गरेनन् गठबन्धनको धर्म समेत सम्झाएका थिए ।


अब गभर्नरको विषयमा फकौं । पदावधि सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था भएपनि सकिएको एक महिना पछि सम्म पनि सरकारले गभर्नर नियुक्ति गर्न नसक्नुलाई असफलता र विवादको रुपमा टिप्पणी भइरहेको छ । 


गत शनिबार, आइतबार र सोमबार पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा गभर्नर र आगामी वर्षको बजेटका विषयमा छलफल भएको थियो । शनिबारको बैठकमा अर्थमन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखक पनि थिए । बैठकमा प्रधानमन्त्री ओलीले बिहीबारसम्म गभर्नर नियुक्ति गरिसक्ने संकेत दिएको बताइएको छ । तर यस बीचमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग 'फोटो' को लागि भएपनि प्रचण्डसँग निकटता बढाएको देखाएर देउवासँग 'गभर्नरको बार्गेनिङ गरिएको बाहिरबाट हेर्दा देखिएको छ ।


राजनीतिक रुपमा सम्भव भएपनि ओली र प्रचण्डको पुनर्मिलन त्यति सजिलो भने देखिदैन । भइहाले पनि त्यो अर्को ५-६ महिना भन्दा बढीको हुदैन भन्ने कुरा दुवैको राजनीतिक र व्यक्तिगत इगो र इतिहासबाट बुझ्न सकिन्छ । अहिले कांग्रेसका नेताहरुको आलोचनाका बाबजुत देउवा असन्तुष्ट नभएसम्म कांग्रेस ओलीविरुद्ध जान नसक्ने ओलीले पनि स्पष्ट बुझेका छन् । तर ओलीले गभर्नरमा ओली देउवाविरुद्ध गए भने सरकार ढल्ने र कांग्रेस- माओवादी एक ठाउमा आउने कुरालाई अस्वीकार गर्न सकिदैन । तर ओलीले आफ्नो लागि प्रचण्डको भर परेर त्यति ठुलो 'रिस्क' लिन्छन् भन्ने विश्वास गर्न सकिदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति