नेभिगेशन
समाज विविध

डेढ महिनादेखि कामविहीन नौ सहसचिव बार्दलीमै !

काठमाडौं - गृह मन्त्रालयले सहसचिवलाई मन्त्रालयकै बरण्डामा उभ्याउँदै उपसचिवलाई सहसचिवको जिम्मेवारी दिँदै खटाउने गजबको प्रचलन भित्र्याएको छ । जसले सहसचिवहरुलाई असुन्तुष्ट बनाएको छ ।

‘‘हामीलाई त के गर्ने हो भनी सोध्दा पनि सोधिँदैन’’ जिम्मेवारीविहीन एक सहसचिवले  भने, ‘‘कम्तीमा गृह मन्त्रालय वा मातहत पोष्टिङ हुँदैन भनिए अन्यत्र सरुवाका निम्ति खोजी गर्थ्यौँ । हामी प्रथम श्रेणीका सहसचिवलाई यसरी बार्दलीमा उभ्याइरहँदा कस्तो पीडा होला ?’’

यतिखेर गृहमन्त्रालयमै जिम्मेवारीविहीन सहसचिवको संख्या नौ जना छन् । 

तिनीहरुमध्ये कोही प्रमुख जिल्ला अधिकारीबाट सरुवा परेका हुन् भने कोही अन्य सरकारी निकायबाट सरुवा हुँदै आएका हुन् । तिनीहरुमध्ये कतिपय त दुई–तीन महिनादेखि मन्त्रालयले कतै पदस्थापन गरेको सूचना कुरिरहेका छन्, मन्त्रालयको बरण्डामा रहेर । 

प्रमुख जिल्ला अधिकारी हुँदै शान जमाएका, महाशाखा प्रमुख हुँदा काममै व्यस्त सहसचिवले जिम्मेवारी नपाएपछि तिनलाई ‘हिनताबोध’ पैदा गराएको छ ।

मन्त्रालयले पदस्थापन नगरेपछि सहसचिव प्रेम भट्टराई, वासुदेव दाहाल, शंकरहरि आचार्य, अरुण पोखरेल, लक्ष्मण ढकाल, सुरेन्द्र पौडेल, नारायण रिसाल, नेत्र सुवेदी, सुनीता नेपाल र केदारनाथ शर्मा बरन्डामा रहेर सूचना कुर्दैछन् ।

गृह मन्त्रालयभित्र चैत मसान्तसम्म १३ जना सहसचिव जिम्मेवारीविहीन थिए ।  यसबीचमा चार जनाले जिम्मेवारी पाए भने नौ जना अझै बरण्डाबाट ‘कुर्सी’मा पुग्न पाएका छैनन् । एकातिर गृहमन्त्रालयमै जिम्मेवारविहीन सहसचिव हुँदा हुँदै पाँच जना उपसचिवलाई सहसचिव पोष्टिङ हुने ठाउँमा खटायो । 

‘‘सहसचिव दरबन्दी भएका ठाउँमा उपसचिव खटाइनु र सहसचिवलाई थन्काइरहँदा सरकारले कसरी चुस्त प्रशासन छ भन्न सक्छ ?’’ डेढ महिनादेखि कामविहीन सहसचिवले गुनासो गरे, ‘‘गृह मन्त्रालयले नयाँ प्रवृत्ति भित्र्याउँदै यो त अति गर्‍यो ।’’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मधेशमा भोलि सार्वजनिक बिदा