नेभिगेशन
समाज विविध

कक्षा १२ को परीक्षा भोलिदेखि, कति छन् परीक्षार्थी ?

काठमाडौं - उच्च शिक्षाको ढोका खोल्ने खुड्किलो मानिएको विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा भोलि (आइतबार) देखि सञ्चालन हुँदैछ ।

आगामी जेठ २ सम्म सञ्चालन हुने परीषामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ तीन लाख ९५ हजार ९ सय र आंशिकतर्फ एक लाख १५ हजार ६ सय परीक्षार्थी छन् । 

परीक्षाका लागि देशभर १,५९१ केन्द्र तोकिएका छन् । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सुरक्षाकर्मी गरी ५० हजार जनशक्ति परिचालन हुनेछन् ।

शिक्षक आन्दोलनका कारण परीक्षा बोर्डले छोटो अवधिमै सबै तयारी पुरा गरेर परीक्षा सञ्चालन गर्न लागेको हो ।


कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी हुँदैछन् भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १३३ जना छन् । जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी हुँदैछन् । परीक्षामा मोबाईल फोन, स्मार्ट घडी र इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको छ । स्थानीय तहलाई पनि परीक्षा मर्यादित बनाउन परिचालन गरिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भएकाले उच्चमनोबलका साथ सहभागी हुन शिक्षाविद्ले सुझाव दिएका छन् ।

कक्षा १२ को परीक्षा जेठ २ गतेसम्म चल्ने छ । विद्यार्थीको भविष्यसँग जोडिएको उच्च शिक्षाको आधारशिलाको रूपमा रहेको १२ कक्षाको परीक्षालाई शान्त, अनुशासित र व्यवस्थितरुपमा सम्पन गर्नु सबैको दायित्व हो । बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोवाइल फोन, स्मार्ट घडी लगायत अन्य कुनै पनि प्रकारका इलेक्टोनिक्स डिभाइस लैजान रोक लगाइएको जनाएको छ । यदि कसैले परीक्षामा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरु जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने र सम्पूर्ण विषयको परीक्षा पनि रद्द हुने चेतावनी समेत बोर्डले दिएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मेलम्ची खानेपानी वितरण बन्द