नेभिगेशन
अर्थ विविध

श्वेतपत्र जारी गर्दै हितेन्द्रदेवले भने- अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न सकिँदैन

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।

पदवहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको दाबी गरेका छन् ।

वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच पुगेको उनले बताएका छन् । घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको प्राधिकरणले बताएको छ ।

फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २ हजार ४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।

माग र आपूर्तिको असन्तुलनले वर्षा यामको विद्युत् खेर गएको र सुख्खायाममा विद्युतको माग बढ्दा पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको उनको भनाइ  छ ।

‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार २०८२/८३ मा वर्षा याममा २ हजार ६४८ मेगावाट , २०८३/८४ मा ३ हजार ३१६ मेगावाट विद्युत् जगेडा रहनेछ,’ शाक्यले भने, ‘यो निर्यात हुनुपर्ने देखिएको छ । तर, त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र २०८३/८४ मा ७२८ मेगावाट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’

शाक्यले आगामी दिनमा विद्युत् आयात शून्य नहुने पनि बताए । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनको भनाइ थियो ।

शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्नुपर्छ ।

यससँगै विद्युत् खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्‍याउन सबै प्रयास गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध