नेभिगेशन
अर्थ विविध

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गरेका छन् । 

आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उनले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।

“आज यहाँको स्काइ वाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गर्नुहोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ”, उनले भने । उनले स्काइ वाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रिया समेत दिए । 

धनकुटाको साँगुरीगढी गाउँपालिका-४ र धरान उपमहानगरपालिका-६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा रु. २० करोडमा स्काइवाक निर्माण गरिएको हो । स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए । 

स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ । स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति रु. ५०० शुल्क तोकिएको छ ।

स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेका छन् ।

त्यसअवसरमा नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोसी प्रदेशसभा सदस्य निरन राईलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध