नेभिगेशन
समाज विविध

बाढी–पहिरोको ६ महिना : स्थानीय तहद्वारा तथ्याङ्क पठाउनै आलटाल

काभ्रेपलाञ्चोक - छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढीपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’ लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।

राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । गत असोज १०–१२ मा परेको अविरल वर्षातले पुर्‍याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समय सीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् ।


काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् ।

क्षति भएका घरहरुको विवरण संकलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरुलाई रु २५ हजार राहत दिनेछ ।

विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण संकलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरु पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्र्तगतको विपद् ब्यवस्थापन समितिलाई निकासा माग गरेको छ ।

निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ ।

धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । ‘तीव्र रुपमा वडागतरुपमा प्राप्त विवरण छानविन भइरहेको छ, अब केही दिनमै सक्नेछौं’, पनौतीका प्रमुख रामशरण भण्डारीले भने । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटक–पटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए ।

‘स्थानीय तहले ढिलाई गर्दा बाढीपहिरोपीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाई भइरहेको हो’, उनले भने । समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई पीडितको अपडेट र पूर्व तयारीका कार्यहरु यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णय समेत गरेको छ ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । गत असोजको वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ताको अवस्थामा छन् ।

कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने